कर्णाली प्रदेशसभा सदस्यमा कोरोना सङ्क्रमण

कर्णाली प्रदेशसभा सदस्य तथा लेखा समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठलाई कोरोना सङ्क्रमण भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आज प्राप्त रिपोर्टले उनमा सङ्क्रमण देखाएको हो। प्रतिष्ठानका निर्देशक डा मङ्गल रावलले आइतबार स्वाब सङ्कलन गरी आरटी पीसीआर परीक्षण गर्दा श्रेष्ठमा कोरोना सङ्क्रमण देखिएको बताए।

यता प्रदेशसभा सदस्य श्रेष्ठले भने, ‘स्वाब परीक्षण गर्दा नतिजा पोजेटिभ आएको छ, म अहिले होम आइसोलेसनमा छु । स्वास्थ्य अवस्था सामान्य छ। मसँग कन्ट्याक्टमा रहेका व्यक्तिको ट्रेसिङ चाँडो गराउन म सङ्क्रमण भएको समाचार आउन जरूरी छ।’

यसैगरी, प्रदेशसभा सदस्य श्रेष्ठसहित कर्णालीमा ५२ जनामा सङ्क्रमण देखिएको छ। यसअघि जुम्लामा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, उद्योग बाणिज्य सङ्घका अध्यक्ष रजवअलि मनियार, नेकपाका जिल्ला नेता जीवन बुढ्थापा, अधिवक्ता दिलबहादुर महत, महिला अधिकारकर्मी भगवती श्रेष्ठ र एनजिओकर्मी टेकबहादुर रावतलाई पनि कोरोना सङ्क्रमण देखिएपछि उनीहरु चार दिनदेखि आइसोलेसनमा छन्।

प्रकाशित मिति: : 2020-09-06 23:26:26

प्रतिकृया दिनुहोस्