स्थानीय तह निर्वाचन

वर्षमानकाे जिल्लामा ‘आदर्श’काे सान

बिएल संवाददाता

गंगादेव, रोल्पा

चुडामणी वली (आदर्श)ले स्थानीय तह निर्वाचनको प्रचार अभियान थालिसकेका छन्। उनी माओवादी केन्द्रका प्रभावशाली नेता तथा पूर्वमन्त्री वर्षमान पुनकाे जिल्ला राेल्पास्थित गंगादेवका लागि ‘स्वतन्त्र उम्मेदवार’ हुन्।

वलीले केही दिनअघि आफू गंगादेव गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार बन्ने घोषणा गरिसकेका छन्। उनी आजभोलि प्रचारप्रसारमा केन्द्रीत छन्। युवा र किसानसँगै टोलटोलमा भेटिन्छन्। आफूलाई भोट माग्छन्। स्कूल, अस्पताल, खानेपानी, बाटो–घाटो, पुल–पुलेसा, मठ–मन्दिरको चर्चा गर्छन्।

उनी 'चुनाव चिन्ह'बिनै मतदाताकाे घरदैलोमा पुगेका छन्। किनकि स्वतन्त्र उम्मेदवार हुन्। उनले चुनाव चिन्ह मनोनयन दर्तापछि मात्रै पाउँनेछन्। गंगादेवका मतदातासँग राय मागिरहेका छन्, वली।

स्वतन्त्र उम्मेदवार उनी गाउँतिर एक्लै छैनन्। नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता–कार्यकर्तासँगै हिँडिरहेका छन्। यत्तिमात्रै होइन चुनावी प्रचारमा माओवादी केन्द्रका कतिपय जिम्मेवार नेता–कार्यकर्ता पनि उनीसँगै देखिन्छन्। र, गाउँतिर प्रचार अभियानमा भेटिन्छन्, ‘एमाले–कांग्रेस’का कार्यकर्ता।

युद्धताका माओवादी केन्द्रका ती कार्यकर्ता र स्वतन्त्र उम्मेदवार वली सँगसँगै देखिन्र्थे। तीनै व्यक्तिहरू अहिले फरकफरक कित्तामा उभिएका छन्। तरपनि गंगादेवका उनीहरूले आफ्ना पुराना कमाण्डर अर्थात् कमरेड आदर्श भुलेका छैनन्। त्यसैकारण पनि पार्टीका उम्मेदवार छोडेर स्वतन्त्र उम्मेदवारको चुनावी प्रचारमा हिँड्छन्, माओवादी कार्यकर्ता।

‘काठमाण्डू गएका नेताहरू गाउँ फर्किदैनन्। उहाँ त फर्किनुभयो नी! गाउँपालिका अध्यक्ष लड्ने चर्चाले यहाँका जनता उत्साहित छन्। यस्तो बेला पार्टी–साथी भन्ने होइन। राम्रो उम्मेदवारलाई जिताउनुपर्छ। हाम्रो आस्था राख्ने पार्टी माओवादी केन्द्र नै हो। तर आदर्शलाई भोट हाल्छौं,’ माओवादी केन्द्रका एक कार्यकर्ता भन्छन्।

वलीको उम्मेदवारी घोषणासँगै गंगादेवका मतदाता निकै खुसी छन्। किनकि प्रष्ट वक्ता र कामकाजी नेतालाई आउँदो स्थानीय निर्वाचनमा रोज्न पाउँनेछन्। उनी प्रायः सबै टोलमा छिरिसेका छन्। आफ्नो विचार राख्छन्। मतदाताको गुनासो पनि सुन्छन्।

‘अघिल्लो निर्वाचनमा खराब पात्र जिताएर बर्बाद गरियो! अब त राम्रो व्यक्तिलाई छान्ने हो। भ्रष्ट उम्मेदवारलाई भोट हाल्दा ठूलो दुःख पायौं,’ एक युवाले भने।

गंगादेवबासीलाई आदर्श देखे–भेटेपछि राजनीतिक पार्टीको वास्ता छैन। यहाँ नेत्रविक्रम चन्द नेतृत्वको नेकपा कमजोर छ। तर स्वतन्त्र उम्मेदवार भने बलिया छन्। सबैले रूचाउँछन्। सबैले मान्छन्। र, वलीको यत्ति अपेक्षा छ– सबै मतदाताले मताधिकार पनि प्रयोग गर्नेछन्। आफूलाई नै जिताउँने छन्।

प्रकाशित मिति: : 2022-04-15 09:02:00

प्रतिकृया दिनुहोस्