पछिल्लो २४ घण्टामा नेपालमा ९८० जना थप कोरोनाभाइरस सङ्क्रमित फेला पर्नुका साथै ९ जनाको कोभिड-१९ का कारण ज्यान गएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,३८२ जनामा पीसीआर परीक्षणबाट काठमाडौं उपत्यकामा मात्रै ३५४ जना संक्रमित थपिएका छन्। काठमाडौंमा २९० जना, ललितपुर र भक्तपुरमा समान ३२/३२ जना थपिएका हुन्।
योसँगै नेपालमा कुल सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या ४६,२५७ पुगेको छ। गत चौबीस घण्टामा निको हुनेको सङ्ख्या १,८१४ रहेको छ। कुल सङ्क्रमितमध्ये ६३ प्रतिशत निको भएको मन्त्रालयले जनाएको छ।
हाल देशभरि आइसीयूमा १७४ र भेन्टिलेटरमा २७ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्। विगत २४ घन्टामा २ महिला सहित ९ जनाको कोभिड-१९ का कारण ज्यान गएको छ।
मृतकहरूमा मोरङका ४५ वर्षीय एक जना पुरुष र ६४ वर्षीया एकजना महिला छन्। त्यस्तै झापाकी ४५ वर्षीया एक जना महिला अनि धनुषाका ३५ वर्षीय एक पुरुष छन्। पर्साका ७७ वर्षीय पुरुष तथा चितवनका ७० वर्षीय पुरुषको पनि ज्यान गएको छ।
काठमाडौंका ७४ वर्षीय, ६८ वर्षीय र ८५ वर्षीय गरि तीन पुरुषको पनि निधन भएको छ।
हाल देशभरिमा संस्थागत आइसोलेशनमा ९२०१ जना तथा घरमै 'होम' आइसोलेशनमा ७८२६ जना रहेका छन्।
क्वारन्टीनमा अझै ४७०३ जना रहेको मन्त्रालयले जनाएको छ।
पाँच सय भन्दा धेरै सक्रिय सङ्क्रमित भएका जिल्लामा मोरङ, सुनसरी, धनुषा, पर्सा, बारा, रौतहट, सर्लाही, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन तथा रुपन्देही छन्।
सक्रिय सङ्क्रमित शून्य रहेका जिल्लाहरूमा सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला छन्।