समुदायस्तरमा कोरोना भाइरस (कोभिड- १९) संक्रमण फैलिएको मोरङको रंगेली नगरपालिकामा संक्रमण शून्यमा झरेको छ। जनता क्याम्पसको आइसोलेसन केन्द्रमा रहेका बाँकी तीन जनासमेत शनिबार कोरोना संक्रमणमुक्त भएर घर फकिएपछि रंगेलीमा कोरोना संक्रमण शून्यमा पुगेको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले संक्रमितको कन्ट्याक्ट ट्रेसिङबाट तीव्ररूपमा परीक्षण गरेर संक्रमण पुष्टि भएका संक्रमितको उचित व्यवस्थान गरेपछि रंगेली कोरोनामुक्त भएको जनाएको छ। नगरपालिका स्वास्थ्य शाखा प्रमुख भूपेन्द्र मण्डलका अनुसार रंगेलीमा कुल १ सय २२ जनामा कोरोना पुष्टि भएकोमा समुदायस्तरमा मात्र १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
अन्य १३ जना भारतबाट आएर नगरका क्वारेन्टाइनमा बसेका व्यक्तिहरू रहेका थिए। उनीहरू प्रदेश सरकारले स्थापना गरेको कोभिड- १९ उपचार केन्द्रमा उपचारपश्चात कोरोनामुक्त भएर घर फर्किएका थिए । समुदायस्तरमा संक्रमण पुष्टि भएकामध्ये रंगेली- ८ का ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । अन्य सबै जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
रंगेली नगरपालिकामा १९ साउनमा पहिलो पटक समुदायस्तरमा एकै दिन २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये १४ जना एकै परिवारका रहेका थिए । सो परिवारका एक पुरुषको मस्तिष्क घातबाट मृत्यु भएपछि मृत्यु संस्कारमा सहभागि हुन भारतको दिल्लीबाट आएकी मृतककी छोरीबाट सबैमा कोरोना संक्रमण फैलिएको बताइएको छ।
समुदायस्तरमा संक्रमण पुष्टि भएकामध्ये नौजनाको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड- १९ उपचार केन्द्र र १३ जनाको पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ आइसोलेसन केन्द्रबाट उपचार भएको थियो भने ८७ जना रंगेलीस्थित जनता क्याम्पसको आइसोलेसन केन्द्रबाट स्वास्थ्यलाभ गरी कोरोनामुक्त भएर घर फर्किएपछि यतिबेला रंगेली संक्रमणमुक्त भएको स्वास्थ्य शाखा प्रमुख मण्डलले जानकारी दिए ।
कोरोना संक्रमित दैनिक थपिँदैजाँदा प्रदेश सरकारले स्थापना गरेका कोभिड- १९ उपचार केन्द्रमा बेड अभाव हुन थालेपछि नगरपालिकाले संक्रमित राख्न रंगेलीकै जनता क्याम्पसमा गत २५ साउनदेखि सय बेड क्षमताको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको थियो ।
सो आइसोलन केन्द्रमा राखिएका सबै उपचारपश्चात कोरोनामुक्त घर फर्किएपछि आइसोलेसन केन्द्र अहिले खाली भएको छ भने सिंगो रंगेली नगरपालिका कोरोनामुक्त भएको नगरप्रमुख दिलीप बगडियाले जानकारी दिए ।
‘शनिबार ३ जना बाँकी संक्रमित पनि डिस्चार्ज हुनुभएको छ । अब रंगेली कोरोनामुक्त भएको छ । हाम्रो एकल पयासबाट मात्र सम्भव थिएन । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा रंगेली अस्पतालका स्वाथ्यकर्मीको महत्वपूर्ण भूमिका छ । सँगसँगै रंगेलीका सबै जनप्रतिनिधि, उद्योगी, व्यवसायी, नगरवासी, सञ्चारकर्मी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगायत सबैको महत्वपूर्ण भूमिका र सहयोगले रंगेलीमा नियन्त्रण गर्न सफल भएका छौँ,’ उनले भने, ‘अब रंगेलीमा कोरोना संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाएका छौँ ।'
रंगेलीमा बाहिरबाट सरुवा भई आएका १२ प्रहरीलाई अनिवार्य क्वारेन्टाइनमा बस्न लगाएको उनले बताए । बाहिरबाट आउने व्यक्तिहरूका कारण संक्रमणको जोखिम रहेकाले उच्च निगरानी पनि उनको भनाइ छ।