अमेरिकाले परिवारका सात सदस्य गुमाएका २३ वर्षीय युवामाथि कोरोना भ्याक्सिन परीक्षण सुरु गर्‍यो

अमेरिकामा कोरोनाका कारण परिवारका सात जना सदस्य गुमाएका २३ वर्षीय ज्याकब सेरेनो अक्सफोर्ड विश्वविधालयले अमेरिकी कम्पनीसँग मिलेर तयार पार्न लागेको भ्याक्सिनको मानवमाथिको परीक्षणमा सहभागी भएका छन्।

उनी अन्तिम चरणको परीक्षणमा खोप लिने पहिलो अमेरिकी हुन्। परीक्षण फ्लोरिडामा सुरु भएको छ। अक्सफोर्ड विश्वविधालय र फार्मा कम्पनी एस्ट्राजेनेका मिलेर तयार गर्न लागिएको भ्याक्सिन दुई चरणमा मानवमाथि परीक्षण भइसकेको छ। 

ज्याकबले स्थानीय मिडियालाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘मैले धेरै गुमाइसकेको छु। म मानिसको जीवन हरण गर्ने कोरोनालाई रोक्ने अभियानमा केही सहयोग गर्न चाहन्छु। त्यसैले परीक्षणमा सहभागी भए।’

अमेरिकामा १ लाख ८३ हजारभन्दा बढी मानिसको कोरोनाका कारण निधन भइसकेको छ। ‘म चाहन्न कोरोना सधै हाम्रो बीचमा रहोस्। मलाई थाहा थियो, भ्याक्सिनको परीक्षणमा जोखिम छ,’ उनले अन्तर्वार्तामा भनेका छन्।

अमेरिकामा परीक्षण फ्लोरिडाको हेडलेड्स जेम रिसर्च इन्सिच्युटमा भइरहेको छ। यहाँ ज्याकबसँगै अन्य ३१ जना स्वयम सेवकमा भ्याक्सिनको खोप दिइएको छ। र, उनीहरूको नियमित रिपोर्ट लिने काम पनि भएको छ। आउँदो साता उनको शरीरमा भएको भाइरसमाथि ‘इम्युन’ ले कस्तो प्रतिक्रिया जनाउँछ, यसले परीक्षणको सफलता निर्धारण गर्नेछ। 

परीक्षण कार्यक्रम सञ्चालन गरिरहेका डा. ल्यारी बुसका अनुसार पछिल्लो परीक्षणमा भ्याक्सिन प्रभावशाली देखिएको थियो। स्वयम सेवकमाथि गरिएको प्रयोगमा ‘इम्युन’ ले राम्रो प्रतिक्रिया जनाएको उनको दावी छ। 
  
पहिलो र दोस्रो चरणको मानवमाथिको परीक्षणमा स्वयम सेवकको शरीरमा ‘न्युट्रलाइजिङ एन्टीबडिज’ बनेको थियो। संक्रमित कोसिकामा टि–सेलको प्रभाव राम्रो देखिएको थियो। यस्तो हुनु उपचारका हिसाबले राम्रो मानिन्छ।

अमेरिकामा अक्सफोर्ड विश्वविधालय र फार्मा कम्पनी एस्ट्राजेनेका मिलेर भ्याक्सिन ‘एजेड १२२२’ को परीक्षण गरिएका छन्। तेस्रो चरणमा विश्वभरि ५० हजार मानिसमा भ्याक्सिन परीक्षण भइरहेको छ। जसमा ३० हजार अमेरिकी सहभागी छन्। यो भ्याक्सिनको परीक्षण बेलायत, ब्राजिल, दक्षिण अफ्रिकामा पनि भइसकेको छ।

प्रकाशित मिति: : 2020-09-04 06:25:23

प्रतिकृया दिनुहोस्