पचासको दशकको सेरोफेरोयता कविता विधामा सकृय साधनारत कवि हुन्- देवान किराती। जसले तर ६० को दशकको अन्त–अन्ततिर मात्रै लिएर आएका हुन्– आफ्नो पहिलो कविताहरुको सङ्गालो- हुरीमा नाचिरहेको ईश्वर।
रमणिय पहाडी गाउँ खोटाङको बुइपामा जन्मिएता पनि देवानले, यद्यपि, पूर्वका विभिन्न साहित्यिक शहरहरुमा मात्रै होइन, देशैभरी कवितामा आफ्नो पृथक अनुहारको पनि बलियो उपस्थिति छ भन्ने कुरा जनाइसकेका छन्। सङ्ग्रहित रुपमा भने उनी देखिएका छन्– यस सङ्ग्रह मार्फत मात्रै। यस सङ्ग्रहभित्र उनका तीन दर्जनभन्दा बढी कविताहरु संकलित छन्।
“हल्ला पनि चलेकै हो शनैः शनैः
ईश्वर आजकल जङ्गलकै बाटो मात्र हिँडछ
हतियार बोकेर
र यो पनि हल्ला आएकै हो हुरीको वेगझैँ
ईश्वर आजकल ईश्वर नै खोज्दै हिँड्छ”
-महाकविको ईश्वर र मृत्युपर्वहरु (पृष्ठ नं. १७)
घरि कुनै वोधिवृक्षको शितल छाँयामा बसेर गहिरा दर्शनका काव्यिक बखानहरु सुनाईरहेझैँ, त घरि भाषा प्रयोगको हिसाबले ७० को दशकका हिप्पीहरुभन्दा पनि अराजकझैँ लाग्दछन् उनी उनका कविताहरुमा।
मैले बोलेका मान्छेका कविताहरु
देववाणी बन्थे होला
मैले गाएका अल्लारे गीतहरु
आदिवाणी हुन्थे होला
र बन्थे हुँला म
एक सुन्दर देवता– अद्भुत !”
-ढुङ्गा हुन पाए (पृष्ठ नं. ३९)
“होर्डिङबोर्डमा झुण्ड्याइएको
त्यो तरुनी–तस्बिर
बारम्बार बलात्कार गरिरहन्छ मलाई।
त्यसको त्यो नाङ्गो तिघ्रा
उदाङ्गो नाइटो
अस्वाभाविक उठेको स्तन
गोगनेको रुखमा चट्याङ परेझैँ
झड्याम्म! झड्याम्म!!
उफ कति भयावह...........?!”
-होर्डिङ्बोर्ड (पृष्ठ नं. १९)
“जेनिफर लोपेजको नग्न तस्बिर राखिएको
बलात्कार र हत्याको त्रासदीपूर्ण
काँचा अक्षरहरु छापिएको
दैनिक अखबारजस्तै जिन्दगी बेचिदिन्छु।”
—विज्ञापन (पृष्ठ नं. २४)
एउटा पहाडी गाउँमा किराती परिवारमा जन्मिएर हुर्किएका उनी उनको सँस्कार, भाषा र शैली जुन प्रकारका हुन्छन्, त्यही रुपमा देखा परेका छन् उनी कतिपय कविताहरुमा। कतिपय कविताहरुमा भने उनी निकै सोझैँ भएका छन्। कतिपयमा थोरै लेखेर धेरै भनेका छन् भने कतिपय ठाउँहरुमा निकै नै सरल भाषाको प्रयोग गरेर पनि उनले जीवनका निकै गहिरा र अप्ठेरा कुराहरुलाई व्यक्त गरेका छन्। यस अर्थमा पनि बजारमा आएका कविताका थुप्रै सङ्ग्रहहरु र कवितामा चलेका शैलीभन्दा निकै भिन्दै लाग्दछन्– यसभित्रका कविताहरु। यसलाई नै देवानका कविताहरुको शक्ति भनेर भन्न सकिन्छ। यसलाई नै उनको निजत्व अथवा मौलिकता पनि भन्न सकिन्छ।
कविताहरुमा वर्तमानका विसङ्गत अवस्थाहरुप्रति व्यङ्ग्य पनि अनौठो ढङ्गले गर्दछन् उनी। सबैभन्दा रमाइलो त उनले आफुले आफैलाई पनि व्यङ्ग्य गर्न छाडेका छैन थुपै्र ठाउँमा।
“घोषणा गर्छु
संसारको सबैभन्दा कुरुप चित्र हुँ म।”
— कुरुप चित्र (पृष्ठ नं. ४२)
कहिलेकाहीँ मेरो देश आइपुग्छौ
खबरपत्रविनाको हुलाकीजस्तो
र फर्कन्छौँ ठेगाना नमिलेको चिठ्ठीजस्तै
आफ्नो नभएको देशतिर।
कवि ! कसरी पो हरायो तिम्रो राष्ट्रवाद
साँझमा आफ्नै छाया हराएजसरी।”
—परदेसिएको राष्ट्रवादी कविलाई सम्बोधन (पृष्ठ नं. २१)
‘निरन्तर बगिरहने ह्यातुङको झरनाझैँ सम्झनाहरु’, ‘देश छोड्यौ कुमालकोटी कीराले घर छोडेझैँ’ ‘सडकहरुमा भीड पोखियो’, ‘विष्फोट भयो अनगन्ती जुलुसहरु’, ‘तीरझैँ तीखा शब्दहरु’, ‘खटियामा पल्टिन्छ एउटा जिउँदो मृत्यु’, ‘अहमको अखाडा’, ‘घस्रिरहेको बुढो–कुप्रो अहंकार’, ‘उत्सवका घोडाहरु’, ‘सम्झनाको जङ्गल’, ‘मेरुदण्डविहीन समय’, ‘आशाको ओख्लीमा राखेर दुःखको बिस्कुन’, ‘आमाको अनुहारको घाम’ जस्ता सुन्दर विम्बहरुले कविताहरुलाई सुन्दर बनाएका छन्।
पे्रम, देशप्रेम, राजनीति र दर्शनजस्ता विषयहरु नै टिपेर कविले प्रत्येक कविताहरुलाई उनेका छन्। लय र भावहरुमा उनले निकै काम गरेको देखिन्छ । छोटा र सरल भाषाका कविताहरुमा भने उनी निकै जमेका छन्। ‘गाँठी कुरा’, ‘होर्डिङबोर्ड’, ‘विज्ञापन’, ‘फाटेको जून’, ‘मरुभूमि’, ‘सुन्दर कविता (क, ख)’, ‘समान–अन्तर’ जस्ता छोटा कविताहरु सङ्ग्रहको प्राण भनेर भन्न सकिन्छ। शैलीगत रुपमा भने उनका आफ्नै पछिल्ला कविताहरुभन्दा थोरै कमजोर देखिएका छन्, सङ्ग्रहका कविताहरु। कुनै–कुनै कविताहरु पढ्दै जाँदा कहिलेकाहि भन्न खोजेको कुराहरुलाई अलि ज्यादै नै भनेभैझैँ, अथवा भन्न खोजेको कुराहरुको प्रस्तुतीमा संयमता नअपनाएभैझैँ अनुभूति पनि हुन्छ पाठकहरुलाई। यद्यपि, “हुरीमा नाचिरहेको ईश्वर” का कविताहरु ईश्वरसँगै हुरीमै नृत्यरत छन्। अर्को सङ्ग्रहको आशासहित बधाई छ प्रिय कविलाई।
कृति ः हुरीमा नाँचिरहेको ईश्वर
लेखक : देवान किराती
विधा ः कविता
प्रकाशक : वाणी प्रकाशन
प्रमुख वितरक : फिनिक्स बुक्स
मूल्य : रु. १५०