प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेमा कोरोना संक्रमण पुष्टि भएको छ।
कोरोनाको लक्षण देखिएपछि स्वाब संकलन गरी उनको कोरोना परीक्षण गरिएको थियो। परीक्षण रिपोर्टमा उनमा संक्रमण पुष्टि भएको मन्त्री घिमिरेका प्रमुख स्वकीय सचिव तिलक बस्नतेले जानकारी दिए।
बस्नेतका अनुसार भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि मन्त्री घिमिरेलाई झाडापखाला र ज्वरो आएको थियो। त्यसपछि उनको स्वाब संकलन गरिएको थियो।
मन्त्री घिमिरेमा संक्रमण पुष्टि भएपछि उनको सचिवालयसहित प्रत्यक्ष सम्पर्कमा आएका १० जनाको स्वाब संकलन गरिएको छ।
मन्त्री घिमिरेले आफू शनिवार साँझदेखि आफ्नै निवासमा बसिरहेको बताए। उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य र स्थिर रहेको स्पष्ट पारे।