महोत्तरीमा कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु, सम्पर्कमा पुगेका ७८ जनाको स्वाब संकलन

महोत्तरीको मनरा शिश्वा नगरपालिका–४ का एक जना स्वास्थ्यकर्मीको कोरोना सक्रमणका कारण मृत्यु भएको छ। आफ्नै घरमा निजी क्लिनिक सञ्चालन गर्दै आइरहेका उनको ९ भदौमा कोरोना संक्रमणका कारण ज्यान गएको हो।

नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद मण्डलका अनुसार मृतक स्वास्थ्यकर्मीका एक छोरा र एक छोरी छन्।उनका अनुसार ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई एम्बुलेन्समा राखेर ९ भदौमा काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। 

मृत्युभएपछि उनलाई काठमाडौंको निजी प्रयोगशाला सुरिया हेल्थ केयरमार्फत स्वाब संकलन गरेर परिक्षण गरिएको थियो

उनको शव १० भदौमा महोत्तरी फकाइएको थियो। त्यसैदिन उनको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मण्डलले बताए।

१० भदौमा नै नगरपालिकाले ती स्वास्थ्यकर्मीको कोरोना संक्रमणका कारण मृत्यु भएको भन्ने बारेको विवरण जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीमा पठाएको थियो।

यता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले अहिलेसम्म कुनै पनि स्वास्थ्यकर्मीको कोरोना कारण मृत्यु भएको विवरण नआएको बताए। “महोत्तरीमा स्वास्थ्यकर्मीको कोरोना संक्रमणका कारण मृत्यु भएको भन्ने सुनेका छौँ। तर हामीकहाँ यसबारे औपचारिक जानकारि आएको छैन”, डा. पाण्डेले भने।

कोरोनाका कारण मनरा शिसवा नगरपालिका–४ का स्वास्थ्यकर्मीको मृत्यु भएपछि नगरपालिले उनको सम्पर्कमा पुगेका परिवारका सदस्यसहित ७८ जनाको स्वाब संकलन गरेर १२ भदौमा जनकपुरमा रहेको प्रदेश प्रयोगशालामा कोरोना जाँचका लागि पठाएको छ।

नगरपालिकाले परिक्षणका लागि पठाएका ७८ जनाको रिपोर्ट अहिलेसम्म आइनसकेको जनाएको छ।

प्रकाशित मिति: : 2020-08-31 17:53:03

प्रतिकृया दिनुहोस्