बाँकेमा प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितकाे उपचार शुरु

बाँकेमा पहिलो पटक कोरोना संक्रमित व्यक्तिको प्लाज्मा थेरापी विधिबाट उपचार शुरु भएको छ।  

सोमबार यहाँका दुई जना व्यक्तिले प्लाज्मा अर्थात रगतदान गरेपनि  प्लाज्मा थेरापी विधिबाट उपचार शुरु भएको हो। प्लाज्मा दान गर्ने व्यक्तिहरु कोरोना संक्रमण जितेका व्यक्ति हुन्।

कोरोना संक्रमितलाई उक्त विधिबाट उपचार गर्नको लागि संक्रमण जितेका व्यक्तिको रगत नै आवश्यक हुन्छ। बाँकेमा पहिलो पटक नेपालगञ्ज उपमहानगरपालिका १ का अध्यक्ष प्रमोद रिजालले प्लाज्मा दान अर्थात रगत दान गरेका हुन्।

 यस्तै कोहलपुरका रामराज चौधरीले प्लाज्मा दान गरेका हुन्। प्लाज्मा थेरापीको माध्यमबाट गम्भीर खालका बिरामीहरुको उपचार गरिने भेरी अस्पतालका डाक्टर खगेन्द्रजंग शाहले बताए। 

उनका अनुसार यो सेवा पश्चिम क्षेत्रमा पहिलो पटक शुरु भएको हो। बाँकेमा प्लाज्मा थेरापीबाट उपचार गर्नको लागि निजी क्षेत्रको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले समेत अनुपति पाएको छ।

प्रकाशित मिति: : 2020-08-31 17:25:48

प्रतिकृया दिनुहोस्