कोरोना संक्रमणका कारण पोखरा र चितवनमा थप दुईको ज्यान गयाे

कोरोना संक्रमणका कारण पोखरा र चितवनमा थप दुई व्यक्तिको ज्यान गएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाए अनुसारपोखरा १४, काजीपोखरीका ८ वर्षीय पुरुषकाे मृत्यु भएकाे छ। 

भदौ ७ गते पेट फुलेर आन्द्रा बटारिएपछि अस्पतालको इमरेजेन्सीमा भर्ना भएका पुरुषलाई अपरेसनपछि त्यहाँको आईसीयूमा भर्ना गरिएको थियो। आईसीयूमै रहँदा उनको शनिबार बिहान ११ बजे निधन भएको हो।

ती पुरुषको अस्पतालको कोभिड उपचार केन्द्रको आईसीयूमा रहेकै बेला भदौ ८ गते स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए।

उनका अनुसार संक्रमित व्यक्ति मुटुका रोगी थिए। 

याेसँगै पोखरामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ र गण्डकीमा १२ पुगेको छ। 

यता चितवन मेडिकल कलेजमा कोरोना संक्रमित एक जना महिलाको मृत्यु भएको छ।

कोभिड आइसियूमा उपचारको क्रममा  हेटौंडा उपमहानगरपालिका ५ की ४९ वर्षीया महिलाको आज विहान मृत्यु भएको हो।

ती महिला मिर्गौला रोगबाट पीडित थिइन्। डायलाइसिस गर्नका लागि ती महिलालाई साउन २७ गते चितवन मेडिकल कलेज ल्याइएको थियो। 

उनको तीन पटकसम्म डायलाइसिस गरिएको अस्पतालले जनाएको छ। सोही क्रममा कोरोना परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।

चितवनमा कोरोनाबाट नौ जनाको मृत्यु भएको छ। जसमा चितवन जिल्लाका चार जना, मकवानपुरका तीन जना, कैलाली र गोरखाका एक–एक जना छन्।

प्रकाशित मिति: : 2020-08-29 13:04:04

प्रतिकृया दिनुहोस्