कोरोना संक्रमणबाट वीरगञ्जमा तीनसहित थप ५ जनाको मृत्यु

फाइल तस्वीर: बिएल नेपाली सेवा

नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साका मात्रै तीनजना छन् भने धनुषा र पाल्पका एक/एकजना रहेका छन्। उनीहरुको शुक्रबार र शनिबार मृत्यु भएको हो। 

वीरगञ्जमा एक महिलासहित थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका १२ मुर्ली निवासी ६५ वर्षीया महिला, वीरगञ्ज १२ निवासी ४३ वर्षीय पुरुष र वीरगञ्ज २२ मनियारीका ३७ वर्षीय पुरुष रहेका छन्।

मुर्ली की ६५ वर्षीया महिलाको उपचारको क्रममा साँझ साढे ७ बजेतिर उनको मृत्यु भएको डा उदय नारायण सिंहले जानकारी दिए। 

श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार दिउँसो २ बजेतिर नारायणी अस्पतालमा भर्ना भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो। न्यून रक्तचापको समस्याले ग्रसित उनलाई पखाला पनि लागेको थियो।

यस्तै मुर्लीका ४३ वर्षका पुरुषको अस्थायी कोरोना विशेष हेल्थ केयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। एचआईभी एड्स र हेपाटाइटिस बीका बिरामी ती पुरुषको नेशनल मेडिकल कलेजबाट रेफर भएर अस्थायी कोरोना बिशेष हेल्थ केयर अस्पतालमा आएको केही घण्टापछि नै शुक्रबार राति ११ बजेर ५५ मिनेटमा मृत्यु भएको हो। 

यता मनियारीका ३७ वर्षीय पुरुषलाई शुक्रबार राति ११ बजेर ४१ मिनेटमा थप उपचारका लागि वीरगञ्ज हेल्थ केयर कोरोना अस्पतालबाट काठमाडौं रिफर गरेर लैजाँदै गर्दा मृत्यु भएको हो। सिकिस्त बिरामी रहेका उनको काठमाडौं लैजाँदै गर्दा शनिबार बिहान मुग्लिङनजिकै मृत्यु भएको डा।चौरसियाले जानकारी दिए।

योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ।

मृत्यु भएका ४८ मध्ये ३६ जना पर्साका, १० जना बाराका र रौतहटका २ जना छन्। जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा भेटिएको बेवारिशे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो। तर उनको हालसम्म पहिचान खुल्न सकेको छैन।

यता, लुम्बिनी मेडिकल कलेज, पाल्पामा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

तानसेन नगरपालिका ८ मदनपोखराकी ३० वर्षीया महिलाको बेलुका ६ः३० बजे मृत्यु भएको मेडिकल कलेजका मेडिकल निर्देशक राजु शाक्यले जानकारी दिए।

उनका अनुसार भदौ ५ गते स्वास्थ्यमा समस्या भएपछि मेडिकल कलेज गएकी मृतकमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा भदौ ७ गते कोरोना पुष्टि भएको थियो।

कोरोना देखिएपछि उनी सोही दिनदेखि आइसोलेसनमा उपचाररत थिइन्। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि शुक्रबार बिहानदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। तरको उनको उपचारकै क्रममा मृत्यु भएको शाक्यले बताए।

ती महिला मुटु रोगीसमेत रहेको थिए।

यस्तै धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ४ का ४५ वर्षीय पुरुषमा मृत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वाब लिई कोरोना परीक्षण गर्दा शुक्रबार उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए।

उनका अनुसार मृतक बुधबार प्रादेशिक अस्पताल जनकपुरको ओपिडिमा भर्ना भएका थिए। लगत्तै उनको स्वाब संकलन गरिएको थियो तर बुधबार नै दिउँसो उनको मृत्यु भएको थियो। 

मृतक क्षयरोग तथा मधुमेहका रोगी थिए। यससँगै धनुषामा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ।

प्रकाशित मिति: : 2020-08-29 09:41:24

प्रतिकृया दिनुहोस्