पछिल्लो २४ घन्टामा उपत्यकामा अहिलेसम्मकै बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।
आज काठमाडौं उपत्यकामा थप ४१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उपत्यकामा केही दिनदेखि कोरोना संक्रमणको दर बढी रहेको छ । उपत्यकामा यसअघि बिहीबार ३७७, बुधबार ३०१, मंगलबार २३२ र सोमबार २२४ जनामा कोरोना संक्रमण देखिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४१५ जनामा कोरोना पुष्टि भएको हो।
आज सबैभन्दा धेरै काठमाडौंमा संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । काठमाडौंमा ३५०, ललितपुरमा ५४ र भक्तपुरमा ११ जना कोरोना संक्रमित देखिएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।
यसैबिच मुलुकभरमा विगत २४ घण्टामा ९२७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। यो सँगै देशभरि सङ्क्रमण पुष्टि हुने व्यक्तिको सङ्ख्या ३६,४५६ पुगेको छ।
पछिल्लो २४ घन्टामा कोभिड-१९ देखिएका थप १२ जनाको मृत्यु भएको सरकारले पुष्टि गरेको छ। योसँगै एक चिनियाँ नागरिकसहित देशभरि १९५ जनाले कोरोनाभाइरससँग सम्बन्धित कारणले ज्यान गुमाइसकेका छन्।
चौबीस घण्टाको अवधिमा १०,२२९ वटा नमुनाको परीक्षण गरिएकोमा १६९ जना सङ्क्रमणमुक्त देखिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए।
अहिलेसम्म २०,२४२ सङ्क्रमितहरू निको भइसकेको सरकारको तथ्याङ्कले देखाउँछ।