वीरगञ्जमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साको धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया महिला छन्।

भदौ ८ गते नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका ७२ वर्षीय पुरुषमा निमोनियासमेत थियो। उनको उपचारका क्रममा भदौ १० गते साँझ ६ः२२ बजे निधन भएको नारायणी अस्पतालले जानकारी दिएको छ।

रिपोर्ट पोजेटिभ आएपछि उनलाई गण्डक कोभिड अस्पतालमा सार्न खोजिएको थियो । त्यही क्रममा उनको मृत्यु भयो । उपचारमा संलग्न चिकित्सकका अनुसार कोभिड संक्रमण पुष्टि भएपछि आफन्तले उनलाई अस्पतालमै छोडेर गए ।

यस्तै हर्दियाकी २३ वर्षीया संक्रमित महिलाको पेटमा ३३ हप्ताको बच्चा पेटमा थियो। भदौ ८ गते नारायणी अस्पतालमा भर्ना भएकी उनलाई सास फेर्न गाह्रो भएपछि भेन्टिलेटरमा राखिएको थियो। २४ घण्टा भेन्टिलेटरमा राख्दा पनि स्वास्थ्यमा कुनै सुधार भएन। उपचारकै क्रममा भदौ ११ गते बिहीबार बिहान ६ बजे उनको मृत्यु भएको अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए।

योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । मृत्यु भएका ४४ जनामध्ये ३२ जना पर्साका, १० जना बाराका र २ जना रौतहटका छन्। 

प्रकाशित मिति: : 2020-08-27 09:24:52

प्रतिकृया दिनुहोस्