पर, टाढाटाढातिर बम र बन्दुकहरु पड्केका आवाजहरु फाट्टफुट्ट सुनिइरहन्छ, नयनसिंह लिम्बू, वर्ष ६०, ती आवाजहरुको वास्तै नगरी आफ्नाे पाखेबारी जोतिरहन्छ। यसपालि त खडेरी पनि ठुलै पर्लाजस्तो छ, जेठ कटिसक्यो पानी पर्ने होइन, मकै छर्न पनि गाह्रो, पाखेबारीमा उम्रेका झारपोथ्राहरु पनि बोटमै सुकेर गाउँ नै उजाड र रुखो देखिन्छ। तर, पनि केही होला कि भनेर बूढो नयन आफ्नाे एक हलको मेलो आजै सिध्याउने सुरमा छ। जमानाको सैन्य तालिमले होला आफ्नाे अलि कुप्रिएको, बढी नै दुखिरहने ढाड यसो तन्काउँछ, आँखा परपरसम्म पुग्छन्, पल्लो घर, माथ्लो घर रित्ता छन् अनि भत्किसकेका छन्। आफ्नाे बारीसाँधको मूलबाटोमा पहिले-पहिले यात्रुबस कुद्ने गथ्र्यो, आजकल त त्यहाँ युद्धपोत गाडीहरु गुड्छन्। त्यो करमको बोट पनि ठाडै सुकिसकेका छ। माथि आकाशमा काकाकुल पानीको प्यासले छट्पटिएझैं आवाजमा कराउँदै फन्को मारिरहेको छ, उसलाई पनि तिर्खा लागेजस्तो भयो, घरमा गाग्री रित्तै थियो, पानीपँधेरो पनि खोलामा छ, पानी लिन जाऊँ भने कतै युद्धको दोहोरो मारमा पो परिने हो कि, प्यासलाई घाँटीमै अल्झाएर ऊ फेरि जोत्न थाल्छ।
त्यो सन्नाटालाई चिर्दै परबाट आज फेरि एउटा बख्तरबन्द बडो रफ्तारमा आयो। सधैं पनि यसरी नै युद्धपोत गाडीहरु शान्तिसेना बोकेर आइरहन्छन्, पर जङ्गल छेउमा उनीहरुको क्याम्प छ। तर, आज त्यो गाडी उसैको घरमास्तिर रोकियो। नयनको मन चिसो भयो, के गर्न आँटे यिनीहरुले। मबाहेक त कोही पनि छैन यहाँ वरपर। उसको मुटु ढुकढुक गर्न थाल्यो। एक २९/३० वर्षको होनहार सैनिक ऊ भए ठाउँमा कुद्दै आयो, बूढाको हातगोडा डरले लल्याकलुलुक भए। अलि पर उभिएर त्यो सैनिकले उसलाई इसाराले बोलायो, ताकि ऊ बडो हतारमा देखिन्थ्यो। उसले परैबाट सोध्यो – ‘Do you know about Nayan Singh Limboo ? Here is a letter, give him, I will meet him in my return back. Ok. ?’ उसले यति भनेर एउटा पत्र बूढालाई दियो र कुद्दो गाडीमा चढ्यो। नयनले केही भन्न नै पाएन। ऊ त्यहीँ उभिएरै खाम ओल्टाईपल्टाई हेर्यो, खाममा लेखिएका एकलाइन अक्षरहरु पढ्यो, ‘To my Appolo, Nayan Singh Limboo, Nepal.’ ती अक्षरहरुले उसलाई कताकता धेरै पर विगतका दिनहरुको याद गरायो। हो, उसैले A, B, C गर्दै लेख्न सिकाएका ती लेखाइ थिए यी। जोत्दै गरेका गोरुलाई सियाँलमा उभ्याएर ऊ त्यहीं बसी त्यो पत्र खोलेर पढ्न थाल्यो।
पत्रको भावानुवाद यस्तो थियो,
‘ए मेरा प्यारा एपोलो, नयन !
तिमी कस्तो भयौ होला यो बेला। सायद बूढो भइसक्यौ होला होइन। बिहे गर्यौ होला, छोराछोरी पनि ठूलाठूला भइसके होलान्। सायद तिमी त हजुरबुवा पनि बनिसक्यौ होला। अँ, म सुन्दै छु, तिम्रो देशमा पनि अशान्ति छ अरे नि, हो ? बेलाबेला तिम्रो देशमा युद्ध भड्केको खबर सुन्दा मलाई तिम्रो ज्यादै सुर्ता लाग्छ। पहिले त तिम्रो देश कति सुन्दर, शान्त छ भन्थ्यौ। तिमीले मलाई सुनाएका ती रहरलाग्दा ठाउँहरु अहिले त युद्धले डढाएर उजाड भए होलान् नि। म कल्पना गर्छु, पहिलेको हाम्रो देशजस्तै उजाड भइसक्यो होला तिम्रो देश पनि।
हेर न, अहिले यहाँ त कति धेरै आनन्द छ। पहिले ती डढेका सडकहरु पनि नयाँ बने। ती ढलेका सहरहरु पनि सुन्दर बनिसके। अब त युद्धले पारेको आफ्नाे हृदयभित्रको घाउ पनि बिस्तारै बिस्तारै बिर्सदैछौं। तर, मलाई लाग्छ, यो घाउलाई हामीले चटक्क बिर्सनुहुन्न, फेरि अर्को घाउ लाग्न सक्ला। म प्रत्येक साँझ समुद्र किनारमा गएर ती छालहरु हेर्दै युद्धमा बितेका मेरा बुवाआमा र आफन्तहरुलाई सम्झन्छु, अझ पर क्षितिजमा टोलाउँदै तिमीलाई सम्झन्छु अनि कताकता मेरो छातीभित्र दुख्न थाल्छ, तिमीले दिएको रुमाल सुँघ्छु, तिम्रो पसिनाको गन्धले तिमी मसँगै भएको आभास मिल्छ मलाई।
अँ, प्यारा नयन, तिमी फर्कंदा मलाई मात्र छाडेनौ, तिम्रो आफ्नाे छोरालाई पनि छाडेछौ। तिम्रो बिदाइको नाचगानको त्यो रात म तिमीबाट गर्भवती भएछु अनि त यो छोरा फिडेल जन्म्यो। त्यसपछि त मैले अरु कोहीसँग पनि विवाह गर्न नै सकिनँ। तिम्रो असाध्यै याद आउँथ्यो, माया लाग्थ्यो अनि त्यो माया फिडेललाई दिन्थें। थाहा छ, तिमीले मलाई अंग्रेजी लेख्न पढ्न सिकाएका थियौ नि, मैले त्यो सिकाइलाई निरन्तरता दिइरहें। काखमा छोरो भए पनि मैले हामीलाई पढ्न दिइएका सुविधाहरुको सदुपयोग गरेर यहाँको म्याट्रिकसम्म पढें। तिमी अचम्म मान्छौ होला, तिमीले पढाउँदा कनीकुथी पढ्ने म पछि यहाँका नानीहरुको स्कुलमा शिक्षिकासम्म भएँ।
म प्रत्येक साँझ फिडेललाई तिम्रो र मेरो प्रेमकथा सुनाउथें। ऊ प्रत्येक साँझ मसँगै रुन्थ्यो। अहिले त ऊ पनि ठुलो, ३० वर्षको भइसक्यो। ऊ अहिले राष्ट्रिय सेनाको लप्टन भइसक्यो। शान्तिसेना भएर तिम्रो देश जान पाउँदा ऊ धेरै खुसी भएको छ। ऊ भन्थ्यो, ‘म जसरी भए पनि मेरी आमाको एपोलो नयन सिंहलाई भेट्छु, उहाँलाई के चिनो पठाउनुहुन्छ ?’ म त कस्तो अभागिनी, यो पत्रबाहेक तिमीलाई केही पनि पठाउन पाइनँ, छोरो हतारमा थियो। तर पनि म ढुक्क छु, यो पत्र बोकेर आउने तिम्रै छोरा फिडेल हो। हवस् त प्यारा, सायद यो जन्ममा हाम्रो भेट अवश्य नहोला तर म कहिलेकाहीं तिमीलाई सपनीमा देख्ने त गर्छु नि ! मलाई पनि एउटा पत्र लेखेर पठाउनू ल !
उही तिम्री सानी,
सेरिया लियोन।
खै कहाँ थिए यी आँसुका थोपाहरु। ऊ आफैंलाई लाग्थ्यो वेदना र वियोगमा रुँदारुँदा थाकेका यी आँखाहरुमा अब एक थोपा पनि आँसु छैन। तर, आज थाहा भयो, सेरिया लियोनकी ती सानीको सम्झनामा झरिदिने आँसुका थोपाहरु यी थकित परेलीभित्र अझै पनि अल्झिरहेका रहेछन्। ऊ सियाँलमै एकिछन सुस्तायो, यो गाउँ फेरि उसलाई बिरानो लाग्यो। पखेटा काटिएको चराझैं लाग्यो आफूलाई। गोरुहरु त्यहीं सियाँलमै सुतेर उग्राइरहेका रहेछन्। उसलाई पनि सेरिया लियोनकी ती सानीको यादले अल्झायो।
त्यसताका नयन सेरिया लियोनमा शान्तिसेना भएर जाँदा त्यो देश नै अनौठो लागेको थियो। उसले सुनेको थियो, त्यहाँका बासिन्दाहरु जङ्गली युगका झैं छन्। उसले सुनेझैं साँच्चै नै त्यो देश यतिखेर पुरै जङ्गलले ढाकेको जस्तै थियो। युद्धताका डढेका सडकमा पनि झारहरु बाक्लै उम्रेका थिए। पुरै सहरका सहर ढलेका देखिन्थे। कतैकतै पुरै महल नै जमिनमुनि भास्सिएको देखिन्थ्यो। त्यो देशमा पुरै सन्नाटा थियो। त्यहाँको स्थानीय बासिन्दाको नाकमुखै देख्न नपाइने। सुनिन्थ्यो, कतैकतै एक दुई जना गर्दै भेला पारेका, युद्धबाट बाँचेका तिनीहरुलाई शान्तिसेनाले संरक्षण गर्छ।
अहिले त अलि धेरै नै सेरालीहरु जङ्गलबाट निस्किसकेका थिए। नयनहरु जाने बेलासम्ममा त सेनाहरुले त्यहाँका बासिन्दाहरुलाई धेरै हदसम्म उद्धार गरिसकेको रहेछ। भन्थे, पहिले-पहिले त त्यसरी बाँचेका युद्धपीडितहरुलाई भेट्टाउनै गाह्रो हुन्थ्यो। ती घना जङ्गलजङ्गलमा उनीहरुलाई खोज्दै हिँड्नुपथ्र्यो। कतिकति सेनाहरु त उनीहरुको पासोमा परि मरे रे। छिमेकी राष्ट्रले आफ्नाे देशमा दस वर्षअघि थोपरेको युद्धबाट बाँचेका ती आक्रान्त जमातहरु यसरी नै जङ्गलभित्रभित्रै फलफूल खाएर बाँचेका थिए। दस वर्षअघिको त्यो युद्धको त्रास अझैं पनि उनीहरुको चेहरा र चलनहरुमा तरङ्गित थियो।
नयन त्यहाँ पुग्दा यदाकदा स-साना झुप्रो र पाल टाँगेर बनाइएका छाप्राहरु भएका स-साना बस्तीहरु देखिन्थे। काला जातीको त्यो बस्ती भर्खरै मात्र सभ्यताको खुड्किलो चढ्दै गरेको मानव समुदायजस्तो देखिन्थ्यो। अहिले त उनीहरु पहिलेभन्दा धेरै विकिसत भइसकेछन्। उनीहरुलाई पढ्न लेख्न सिकाउनु, आवश्यक अन्य सहयोग गर्नु शान्तिसेनाको जिम्मा रहेछ।
नयनको पालासम्ममा त सेनालाई धेरै सजिलो थियो। उनीहरुलाई आफूहरुसँग खुलेआम बस्न बोल्न सिकाउन पहिले-पहिले आएका शान्तिसेनाले कम प्रयत्न गर्नुपरेको थिएन। उनीहरु नेपाली गीत गाउन नाच्न इच्छुक हुन्थे। नयनले त्यहाँका युवा-युवती र बालबच्चालाई अंग्रेजी पढ्न लेख्न सिकाउनुपथ्र्यो। सानिया, युद्धमा बुवाआमा र आफन्तहरु गुमाएकी एक गहुँगोरी किशोरी थिइन्। उनका बुवा आदिवासी प्राध्यापक थिए भने आमा अमेरिकन थिइन्। सानिया नयनको नजरमा परिरहन्थिन्, जतिखेर ऊ तिनीहरुलाई पढाउँथ्यो। सानियाले पनि पत्तो पाएकी थिइन्, नयनले आफूलाई मन पराउँछ भनेर। उनीहरु आफ्नाे पुरानो घाउलाई बिर्संदै नेपाली गीत गाउन सिक्थे, रेशम फिरिरी, रेशम फिरिरी, उडेर जाऊँ कि डाँडामा भन्ज्याङ रेशम फिरिरी...।
अब त नयनको पनि नेपाल फर्कने बेला भइसक्यो तर नयनले सानियालाई मनका कुराहरु भन्न पाइरहेको थिएन, सानिया पनि यही कुरामा तड्पिरहेको प्रस्ट थाहा पाउँथ्यो ऊ। बिदाइको अन्तिम रात भव्य नाचगान भयो। उनीहरुले पनि आफूले सिकेको नेपाली गीत गाए, रेशम फिरिरी...। सानिया अँध्यारो कुनामा नयनलाई नियाल्दै बसिरहिन्। नयन उनको छेवैमा गयो र ‘सानी’ भनी बोलायो।
सानिया आज अलि बढी बेचैन थिई, बढी खुसी थिई। किनकि, यो अँध्यारो अनि एकान्तमा उनले नयनलाई पाइन्। सानियाले नयनलाई सोधी, ‘What the song says ?’ नयनले उनको हत्केला समायो र भन्यो, ‘I would like to go on the peak flying like a bird.’ उसले लामो सास तान्यो र फेरि भन्यो, ‘Sani, tommorow we are going very far from you and your country passing that ocean and hill. But I am very sad leaving you. You know Sani, I like you, I love you.’ एकआपसमा बाँधिएका हातको पक्डाइ अझ दरिलो भयो। सानियाका आँखाबाट आँसु झर्दै थियो। उनी भोलिको बिछोडको पीडालाई नयनले जसरी कहाँ खुलेआम भन्न सक्थिन् र। रात छिप्पिँदै गयो, भोलिको बिछोडको दिन पनि नजिकिँदै आउँदै थियो। सानिया नयनलाई आफूबाट छुटाउन चाहँदिनथिइन्। उनी नयनको बहुपासमा च्यापिइरहिन्, किनकि सानिया उसको धेरै नजिक पुग्न चाहन्थिन्। उनी नयनको नजिक, नजिक अनि धेरै नजिक पुगिन्।
बिहान उनीहरुको लस्कर एयरपोर्टतिर जानका लागि तयार भयो। सानियाले बिदाइ गर्न उभिएका भीडको बीचबाट नयनलाई एक थुँगा फूल र एउटा लिफाफा दिइन्। बडो उदास आवाज निकाल्दै त्यो उदास आकाशमा उनीहरु बसेको विमान उड्यो। विमानभित्र उसले सानियाले दिएको पत्र खोल्यो, त्यहाँ केवल थोरै अक्षरहरु कनीकुथी लेखिएका थिए, ‘Remember me, my Appolo.’ अहिले भने साँच्चै नै नयनका आँखा रसाए। आँसु पुछ्न रुमाल खोज्यो तर हिजै सानियाको आँसु पुछिदिँदा उनैसँग त्यो छुटेछ, डबडबाएको आँसु बर्दीको बाहुलाले स्याप्पै पुछ्यो।
नेपाल फर्केर उसले विवाह गर्यो। एउटा छोरो जन्म्यो। नेपालको स्थिति बिग्रँदो थियो। श्रीमती र आफन्तहरुले उसलाई जागिर छोड्न बाध्य बनाए। सत्ता परिवर्तन र परिवर्तनका अन्य धेरै परिवर्तनका विषयहरुमा नेपाली समाजमा विद्रोहले व्यापक रुप लिँदै गयो। दिनहुँ जसो नेपालीहरु नेपालीद्वारा नै मारिँदै गए। यी विषयहरुभन्दा टाढा रहेर घरायसी व्यवहारमा अल्झँदै र आफ्नाे एक हलको मेलो जोतेरै उसको २५ वर्ष बित्यो। उसले सेरिया लियोनकी ती सानीलाई पनि बिर्सिसक्यो। विद्रोहीको नाममा उसको छोरो पनि मारियो। मारिएको छोरोको सुर्तामै उसकी रोगी श्रीमतीको पनि दुई वर्षपछि मृत्यु भयो। गत तीन वर्षदेखि नयन एक्लै जिन्दगी गुजार्दै छ। अब त देशमा विद्रोह बिथोलिएर चरम
सीमामा पुगिसकेको थियो। यो गाउँ, पारि गाउँ अनि पूरै देश आक्रान्त थियो। त्यसैले, गत सालदेखि नेपालमा पनि संयुक्त राष्ट्रसंघले शान्तिसेना पठाउन थालेको हो।
उसलाई जोत्नै मन लागेन। उसको मन उदास थियो, पुरै जिन्दगी नै उदास लाग्यो। फेरि पनि त्यो उदास वातावारणमा उसलाई कहीँकतै खुसीको झिल्को अडेको झैं लाग्दै थियो, त्यो त्यही उसको छोरो फिडेल थियो। सोच्यो, म अबको भेटमा उसलाई सबै कुरा भन्नेछु।
बेलुकाको सुनसान रातमा उसले आफ्नी सेरिया लियोनकी सानीलाई पत्र कोर्न थाल्यो। उनीप्रतिको आफ्नाे पुरानो माया, त्यहाँदेखि नेपाल फर्केपछि अहिलेसम्मको आफ्नाे कथा, यतिका वर्षपछि सानीप्रतिको फेरि ब्युँतिएको प्रेम र आफ्नाे छोरा फिडेललाई चिनेको, आफू उसको
बुवा भनेर अबको भेटमा उसलाई भन्ने कुराहरु उसले पत्रमा समेट्यो।
छ दिनपछि फिडेल फेरि बडो हतारमा आयो। उसले नयनतिर आउँदा कुद्दाकुद्दै सोध्यो, ‘Did you say to Nayansingh ? Gave letter? He wrote?’ नयन उसको हतारोपनले हतारियो, ‘Yes, yes, I ... ’ नयन बोल्दाबोल्दै फिडेल उसको नजिक पुगिसकेको थियो। फिडेलले स्याँस्याँ गर्दै भन्यो, ‘I am in hurry, give me letter. I am sorry, I haven't any more ti me to meet him. Tell him that your son was come here from Seria Leon. We are going our country tommorow. Thank you, bye.’ यति भन्दै नयनले समाएको पत्र थुतेर फिडेल उसलाई पर्खेको गाडीतिर कुद्याे। नयन लाट्टियो। ऊ चुपचाप आफ्नाे छोरा फिडेलतर्फ टोलाइरह्यो। मनमा बुनेका कुराहरु उसले आफ्नाे छोरालाई भन्नै पाएन। फिडेलको गाडी गुड्यो। केही परको घुम्तीदेखि त्यो देखिन छाड्यो। बिस्तारै बिस्तारै त्यसको आवाज पनि सुनिन छाड्यो। नयन अझैसम्म एकोहोरो त्यतैतिर टोलाइरह्यो।
निकै बेरपछि मात्र झसङ्ग भयो, उसले आफू नै नयनसिंह हुँ भन्न पनि भ्याएन। उसलाई बडो थकथक लाग्यो। मन कुँडियो। फेरि उसलाई हतास लाग्यो। तर पनि मन दह्रो बनाउँदै सोच्यो, ‘सानी त्यहाँ, म यहाँ भएर के भो त, आखिर मैले टेकेको धर्तीको एकछेउमै उनले पनि टेकेकी छन्। यो जनीमा हाम्राे भेट फेरि कहिल्यै नभए पनि के भो त, हाम्रो मायाको यो अनन्त कथाका पात्रहरु हामी नै त हौं नि।’
ऊ अहिले अलि आशावादी बनेर कल्पना गर्न थाल्यो, ‘भोलि, फिडेल काठमाडौंबाट सेरिया लियोनका लागि उड्नेछ। सेरिया लियोनको एयरपोर्टमा सानी उसलाई फूलको गुच्छा लिएर पर्खिरहेकी हुनेछिन्। आमाछोराको त्यो भेटमा सानी मेरो खबर सुन्न आतुर देखिन्छिन्। पछि,
आमाछोरासँगै बसेर मैले लेखेको पत्र पढ्नेछन्। मोरो फिडेल, त्यतिखेर मात्र म बूढोलाई आफ्नाे बुवा भनेर चिन्नेछ।
१८ चैत २०६२
उर्लाबारी