सार्क राष्ट्रका मुलुकमध्ये नेपालमा कोरोनाका सक्रिय संक्रमितको दर सबैभन्दा धेरै रहेको देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा कुल कोरोना संक्रमितमध्ये सक्रिय संक्रमितको दर ४०.६ प्रतिशत छ।
यो संख्या अन्य सात वटा सार्क सदस्य राष्ट्रमध्ये सबैभन्दा धेरै हो। ६ भदौसम्म नेपालमा कोरोनाबाट ३१ हजार १ सय १७ जना संक्रमित भएका छन्। यीमध्ये ४०.६ प्रतिशत अर्थात १२ हजार ६ सय २१ सक्रिय संक्रमित छन् भने ५८.९ प्रतिशत अर्थात १८ हजार ३ सय ५० निको भइसकेका छन्।
यसबाहेक कुल संक्रमितमध्ये ०.५ प्रतिशत अर्थात १४६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यस्तै ११ हजार ६५८ जना व्यक्ति अझैं पनि क्वारेन्टिनमा छन्।
नेपालमा ५ भदौसम्म पाँच लाख ९२ हजार ४१८ जना व्यक्तिको रियल टाइम पीसीआरबाट कोरोना परीक्षण भएको छ।
सार्क राष्ट्रमा नेपालपछि धेरै कोरोनाका कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या बांग्लादेशमा ३९.६ र निको भएका व्यक्तिको संख्या ५९ प्रतिशत छ। यसपछि यो संख्या माल्दिभ्समा ३८.२, भुटानमा २९.४, भारतमा २३.८, अफगानिस्थानमा २३.२, श्रीलंकामा ४.९ र पाकिस्तानमा ४ प्रतिशत छ।
करिब १० दिनअघि अर्थात २८ साउन सम्मको तथ्यांक अनुसार ८ सार्क राष्ट्रमध्ये नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या २८.३ प्रतिशत र निको भएका व्यक्तिको संख्या ७१.४ प्रतिशत थियो। २८ साउनसम्ममा सार्क राष्ट्रमा सबैभन्दा धेरै कोरोनाका सक्रिय संक्रमितको संख्या माल्दिभ्समा ४४.७ र निको हुनेको संख्या ५४.९ प्रतिशत थियो।
त्यतिबेलासम्म कोरोना सक्रिय संक्रमितको संख्या अफगानिस्थानमा २६.४, बाङ्लादेशमा ४०.९, भुटानमा १४.२, भारतमा २८.२, पाकिस्तानमा ६.३ र श्रीलंकामा ९.३ प्रतिशत थियो।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार १८ साउनसम्ममा सार्क राष्ट्रमा कोरोनाका सक्रिय संक्रमितको संख्या नेपालमा २६.८ प्रतिशत र निको हुने व्यक्तिको संख्या ७२.९ प्रतिशत थियो। त्यति बेलासम्म बाङ्लादेशमा सक्रिय संक्रमितको संख्या सबैभन्दा धेरै अर्थात ४२.१ र निको हुने व्यक्तिको संख्या ५६.६ प्रतिशत थियो।
१८ साउनमा कोरोना संक्रिय संक्रमितको संख्या अफगानिस्थानमा २६.८, भुटानमा १२.९, भारतमा ३३.३, माल्दिभ्समा ३०.५, पाकिस्तानमा ९ र श्रीलंकामा १६.७ प्रतिशत थियो।
यसरी झण्डै २० दिनको अन्तरमा नेपाल सार्क राष्ट्रमा सबैभन्दा धेरै सक्रिय संक्रमित हुने मुलुकमा परेको छ। पछिल्लो २० दिनको अन्तरमा नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या १४ प्रतिशतले बढेको देखिन्छ।
हेर्नुहोस् कहाँ के कस्तो छ अवस्था