अत्यावश्यक पसल पनि चलेनन्

लोकान्तर

काठमाडौँ

राजधानीमा कोभिड–१९ को संक्रमण तीव्र बनेपछि उपत्यकाका तीनै जिल्लाका प्रमुख अधिकारी र सुरक्षा निकाय प्रमुखको भदौ २ गतेको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गर्‍यो ।

निर्णयमा भदौ १० सम्म लागू हुने निषेधाज्ञाका क्रममा दैनिक उपभोग्य वस्तुको बिक्री र ढुवानी गर्न पाइने उल्लेख छ । त्यसैले दैनिक उपभोग्य वस्तु ढुवानी र बिक्री गर्न पाउने भएपछि हिमालय डेरी एन्ड एग्रोभेट रिसर्च सेन्टरका सञ्चालक प्रह्लाद दाहालले बिहीबार काभ्रेबाट एक ट्यांकर दही मगाए । तीजलाई लक्ष्य गरी ल्याइएको दही बबरमहलमा प्रहरीले रोक्यो ।

‘दही अत्यावश्यक पदार्थ नै हो, दरका लागि पनिर, मिठाईलगायत दुग्ध पदार्थ बिक्री हुन्छ । त्यसको तयारी गर्न काभ्रेबाट दही मगाएको थिएँ,’ दाहालले भने, ‘तर चार घण्टा प्रहरीले रोकिदियो ।’ त्यति मात्र होइन, प्रहरीले जय श्रीकृष्ण डेरीको दुग्ध पदार्थ बोकेको सवारी कोटेश्वर र सीताराम डेरीको सवारी ट्यांकर कलंकीमा रोकेको नेपाल डेरी एसोसिएसनले जनाएको छ ।

‘सरकारको निर्देशन लागू नहुँदा अवस्था डमाडोल भयो । प्रमुख जिल्ला अधिकारीको निर्णय एउटा छ, ट्राफिक प्रहरी र नगरपालिकाको छुट्टाछुट्टै छ,’ एसोसिएसनका महासचिवसमेत रहेका दाहालले भने, ‘अत्यावश्यक वस्तु ढुवानी गर्न दिने निर्णय गरे पनि ठाउँठाउँमा ट्यांकर सञ्चालनमा अवरोध भयो । डेरी खोल्ने तालिका स्पष्ट नहुँदा समस्या भयो ।’

प्रकाशित मिति: : 2020-08-21 07:25:12

प्रतिकृया दिनुहोस्