वीरगन्जमा बिहीबार साँझ कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ।
नारायणी कोभिड १९ वीरगन्ज केयर अस्पतालमा उपचाररत वीरगन्ज महानगरपालिका वडा नम्बर ५ का ७४ वर्षीय वृद्धको मृत्यु भएको हो।
जिल्ला प्रशासन कार्यालय वीरगन्जका कोभिड-१९ फोकल पर्सन विनय चौरसियाकाअनुसार बुधबार स्वाब संकलन गरी जेन एक्सपर्ट विधिबाट परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ पुष्टि भएको थियो।
ट्राभल हिस्ट्री नभएका ती वृद्धलाई ज्वरो र खोकीको समस्या थियो। यो सँगै पर्सामा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या २५ पुगेको छ। पर्सा जिल्लामा बिहीबार ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
यसअघि वीरगन्ज अस्पताल लैजाने बितिक्कै ज्यान गुमाएका बाराका एक युवकमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो।
कलैया उपमहानगरपालिका १० मटिअर्वाका ५९ बर्षका पुरुषमा उनको मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको बाराका प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिए।
बुधबार राति श्वासप्रश्वासमा समस्या भएपछि उपचारको लागि उनका आफ्न्तले वीरगन्ज ल्याएका थिए। वीरगन्जको नारायणी अस्पताल लग्ने बितिकै ती पुरुषको गेटमै मृत्यु भएको थियो।
मृत्यु पश्चात् उनको स्वाब संकलन गरि नारायणी अस्पतालकै प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा उनमा कोरोना संक्रमण पोजेटिभ देखिएको मिश्रले बताए।