काठमाडौंमा २ सयसहित ७०७ संक्रमित थपिए, थप ६ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा मुलुकका विभिन्न स्थानमा थप ७ सय ७ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा सो संख्याका संक्रमित पुष्टि भएको हो। यो सहित हालसम्म संक्रमित हुनेको संख्या २९ हजार ६ सय ४५ पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा २ सय ६४ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। यो सहित हालसम्म निको हुनेको संख्या १७ हजार ९ सय ६४ पुगेको छ। हाल देशमा सक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ५५ छ।

विगत २४ घण्टामा ११ हजार ८ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ५ लाख ६५ हजार बढीकाे पिसिआर परीक्षण भएकाे छ। 

त्यस्तै पछिल्लो २४ घन्टामा कोरोना पुष्टि भएका ६ जनाको ज्यान गएको छ।  हालसम्म मृतक १२६ जनामा कोरोना पुष्टि भएको छ। 

काठमाडौं उपत्यकामा २ सय संक्रमित थपिए

काठमाडौं उपत्यकामा बिहीबार २ सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा उपत्यकामा २ सय जनामा कोरोना पुष्टि भएको जानकारी दिए।

संक्रमितमध्ये काठमाडौंमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना छन्। कोरोनाले अहिलेसम्म १ सय २० जनाको मृत्यु भएको छ।

बुधबार काठमाडौं उपत्यकामा १ सय ५९ जनामा कोरोना पुष्टि भएको थियो।

प्रकाशित मिति: : 2020-08-20 16:30:12

प्रतिकृया दिनुहोस्