नेपालमा एकै दिन थप ७ काेराेना संक्रमितकाे मृत्यु, मृतक ११४ पुगे

पर्सामा काेराेना संक्रमितकाे शव व्यवस्थापन गरिँदै। फाइल तस्वीर: बिएल नेपाली सेवा

नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लाे २४ घण्टामा ७ जनाकाे मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काभ्रे, मोरङ, धनुषा, बाँके र कास्कीका १ /१ जना पुरुष रहेका छन् भने तनहुँकी एक महिला रहेकी छिन्।

कोरोना संक्रमण पुष्टि भएकी तनहुँकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ।

तनहुँ ब्यास १ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो। 

मृत्यु भएकी महिलामा पहिलेदेखि नै सुगर, प्रेसर, मुटुको समस्या र निमोनियाको समस्या रहेको थियाे।

उनलाई रोगले च्यापेपछि साउन ३२ गते उपचारका लागि अस्पताल लागिएको थियो।

यता, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरामा एक कोराेना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ। 

पोखरा १६ का ८७ वर्षका पुरुष साउन ३२ गते प्रतिष्ठानमा उच्च ज्वरो तथा श्वास प्रश्वासमा समस्या भई उपचारको लागि भर्ना भएका थिए। 

उनी प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रको आईसियुमा सोमबार भर्ना भई उपचाररत थिए।

उनमा कोराेना भाइरस संक्रमणसँगै हाइपरटेन्सन, क्रोनिक किड्नी डिजिज रहेको थिया। 

उनको आज बिहान १०:४० बजे उपचारको क्रममा मृत्यु भएको हाे। 

९८ वर्षीय जेष्ठ नागरिकको कोरोनाका कारण धुलिखेल अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान निधन भएको छ।

धुलिखेल नगरको विकासमा योगदान पुर्‍याएका समाजसेवी ९८ बर्षीय जेष्ठ नागरिक पछिल्लो समय परिवारका साथमा काठमाडौं बानेश्वर बस्दै आएका थिए।

छोरा बुहारीका साथमा बानेश्वर रहेका समाजसेवी जेष्ठ नागरिकको ९८ औ जन्म जयन्ति मनाउन धुलिखेल आउने क्रममा उनलाई अस्पताल लगिएको थियो। साउन २७ गते कोरोना पुष्टी भएपछि उनलाई अस्पतालमै राखेर उपचार गरिएको थियो।

यता, बाँकेमा कोरोना भाइरस संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ।

नेपालगञ्ज मेडिकल कलेज भर्ना भएका नेपालगञ्ज ५ का ६२ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार राति करिव साढे ११ बजे मृत्यु भएको हाे।

मृतकमा साउन ३० गतेदेखि कोरोना भाइरसको लक्षण देखिएको थियो। 

उनी त्यसको दुई दिनपछि अर्थात ३२ गते भर्ना भएका थिए। त्यही दिन अस्पतालले मृतकको स्वाव लिएर परीक्षण गर्न पठाएको थियो। 

उनको स्वाब परीक्षणका‍े रिपोर्ट भदौ १ गते आएको थियो।

मोरङमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। कटहरी गाउँपालिका १ घर भई विराटनगरमा बस्दै आएका ४७ वर्षीय पुरुषको अस्पतालमा सोमबार मृत्यु भएको हो। 

ज्वरो, खोकी र श्वास–प्रश्वासमा समस्या भएपछि ती पुरुष शनिबार साँझ कोसी अस्पतालमा भर्ना भएका थिए। बिरामी शंकास्पद भएकोले उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियाे। 

सोमबार बिहान आएको रिपाेर्टमा उनमा कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि उनलाई आइसोलेसनमा राखी उपचार भइरहेको थियो। उपचारकै क्रममा उनको साँझ ५ बजे मृत्यु भएको हो। 

यस्तै, धनुषामा कोरोना संक्रमणबाट एक जनाकाे मृत्यु भएको छ।

जिल्लाको धनौजी गाउँपालिका ३ कटैया निवासी ६५ बर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएकाे हाे।

ती पुरुष बिरामी परेर गत साउन २६ गते अस्पताल भर्ना भएका थिए। उनको सोही दिन स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो  । साउन ३१ गते रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको थियाे।

जटिल किसिमको निमोनियाबाट ग्रसित ती पुरुषलाई ३१ साउनकै राति सास फेर्न समस्या भएपछि आइसीयूमा भर्ना गरिएको थियो। 

प्रकाशित मिति: : 2020-08-18 17:48:24

प्रतिकृया दिनुहोस्