‘शून्यको मूल्य’ पुस्तक मूलत कर्णालीका आमाहरुको कथा हो। म सोच्थेँ‚ डाक्टरहरु शारीरिक रोगसँग मात्र परिचित हुन्छन्। डाक्टरले बिरामी जाँचेर रोग निदान गरी उपचार गरे बापत पारिश्रमिक लिन्छन्। यही पारिश्रमिकले फेरि आफ्ना छोराछोरीलाई डाक्टर, इन्जिनियर बनाउँछन्। तर, त्याे मेराे भ्रम रहेछ। पुस्तक पढेपछि मेरा यी भ्रमहरू टुटेका छन्।
मान्छेको उपचार गर्ने डाक्टरले समाजलाई समेत चिरफार गरी परिवर्तनको मार्गमा डोर्याउन सक्ने रहेछन्। कर्णाली जस्तो विकट भूगोलमा उपचार गर्ने चिकित्सक कस्तो हुनुपर्छ भन्ने चित्र पुस्तकमा देख्न पाइन्छ।
शून्यको मूल्य के हो ? यसमा कति थोक हाेला ? भनेर ओैंला भाँच्दै हिसाब गरिरहेकाे थिएँ। पुस्तकमा मेरी आमाले भोगेका वास्तविक पीडाहरु छन्। हुम्लाकी भेडेनी कान्छीमा म मेरी आमाकाे चित्र देख्छु। पुस्तककाे संसारबाट बाहिर आउँदा पनि यसभित्रका कथाले आँङ सिरिङ्ङ पारिदिन्छन्। पुस्तक पढिसक्दा अबेरसम्म टोलाइरहन मन लाग्छ।
पुस्तकमा कथा मात्रै छैनन्‚ कथाका पृष्ठभूमि छन्। ती कथा बन्नमा आमाहरुका भाेगाइ छन्। ती भाेगाइका दुरुस्त चित्रण गर्न सक्नु लेखककाे खुबी हाे। मिठाे प्रस्तुतिले नै गैरआख्यानलाई यति रसिलाे बनाइदिंदाे रहेछ।
पुतली आमा‚ भेडिनी कान्छी‚ नाम सोध्न भुलेको जुम्ल्याहाकी आमा‚ नामै नभएकी भुनभुनेकी आमा‚ बुधेकी फुपू आमाहरूकाे साहारा लिएर लेखकले दिगाे विकासका लक्ष्य हासिल गर्न आमाहरु बलिया हुनुपर्ने मतलाई जबर्जस्त स्थापित गरेका छन्।
पुस्तकका पानाहरू पल्टाउँदै जाँदा गरिबी अन्त्य‚ भोकमरी अन्त्य‚ स्वस्थ र समुन्नत समाज‚ गुणस्तरीय शिक्षा‚ लैङ्गिक समानता‚ स्वच्छ पानीजस्ता दिगो विकासका लक्ष्यहरु प्राप्त गर्न कर्णालीका आमाहरू बलिया हुनुपर्छ भन्ने मत बलियो गरि आएकाे छ।
यो पुस्तक रोग‚ भोक‚ गरिबी‚ अशिक्षा‚ अविकास र निराशाको संग्रह होइन। हाम्रो सरकार र संयुक्त राष्ट्रसंघले समेत धान्न नसक्ने आर्थिक तथा सामाजिक जिम्मेवारी विद्यालय टेक्नै नपाएका आमाहरूले कुशलतापूर्वक धान्न सकेका कुरा पुस्तकमा अटाउनु नै सबैभन्दा ठुलाे आशा हाे।
संविधानको धारा ३९ काे उपधारा २ मा ‘प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा‚ स्वास्थ्य‚ पालनपोषण‚ उचित स्याहार‚ खेलकुद‚ मनोरञ्जन‚ सर्वाङ्गीण विकासको हक हुनेछ’ भनिएको छ। तर, जन्मिएको सवा वर्ष पूरा हुँदा–नहुँदै बोल्न सक्नुपर्ने बालकको चार–चार वर्षसम्म बोली फुट्ने वातावरणसम्म नदेख्दा लाग्छ‚ संविधानले प्रत्याभूत गरेका ती बालअधिकार केही होइनन्।
जन्मिएको ९ देखि १४ महिनासम्ममा बच्चाहरू बोल्न थाल्छन्। चिकित्सा विज्ञानले यसै भन्छ। सामान्यतया बच्चाहरूले १२ महिनापछि ‘मामा’‚ ‘बाबा’‚ ‘दादा’ आदि जस्ता शब्द उच्चारण गर्न थाल्छन्।
डाक्टरले कर्णालीमा बिरामी बच्चा बोक्ने आमाहरूको पूर्ण कुशलतामा दिगो विकासको छुटेको लक्ष्य शून्य भेटाएकाे कुरा सुरुमै उल्लेख गरेका छन्। कसैले साेच्न नभ्याएको विषयलाई पकडेर आमातन्त्रकाे वकालत गरिएकाे पुस्तकका लागि चार सय पचास तिरेर पाँच घण्टा समय दिँदा कुनै पछुतो हुन्न। बरु असिम सन्तुष्टि मिल्छ। सबथोक नजानेका कर्णालीका आमाहरुले आफ्नाे पाेल्ठामा देशकाे अर्थतन्त्र भन्दा बलियो ढुकुटी राख्न सकेकाे कुरा पहिल्याइदिएकाेमा डाक्टर केसीलाई साधुवाद।