कोरोना संक्रमण पुष्टि भएकी तनहुँकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ।
तनहुँ ब्यास १ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो।
मृत्यु भएकी महिलामा पहिलेदेखि नै सुगर, प्रेसर, मुटुको समस्या र निमोनियाको समस्या रहेको कास्की सेवा अस्पतालका सञ्चालक डा पदम खड्काले जानकारी दिए।
उनलाई रोगले च्यापेपछि साउन ३२ गते उपचारका लागि अस्पताल लागिएको थियो।
डा खड्काले भने, ‘क्रिटिकल अवस्थामा ल्याइएको थियो। अस्ति स्बाब टेस्टका लागि पठाइएको थियो। हिजो राति मृत्यु भयो, बिहान कोरोना पोजेटिभ भएको जानकारी आएको छ।’
शव व्यवस्थापन र कडाइ कसरी गर्ने लगायतका निर्णय गर्न अहिले प्रदेश स्तरीय सीसीएमसीको बैठक बसिरहेको प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए।
छोरीमा पनि कोरोना संक्रमण
बिहान कोरोना पुष्टि भएकी महिलाकी छोरीलाई पनि संक्रमण भएको पुष्टि भएको छ। आमालाई लिएर पोखरा आएकी छोरीमा पनि संक्रमण देखिएको निर्देशक डा शर्माले जानकारी दिए।
‘बिहान ५० र २५ वर्षीयामा कोरोना संक्रमण भएको थियो। तिनैमध्येकी ५० वर्षीया महिलाको मृत्यु भएको हो भने २८ वर्षीय छोरीमा पनि कोरोना संक्रमण भएको देखिएको छ,’ उनले भने।
उनका अनुसार बिरामी आमालाई हस्पिटल चोकस्थित कास्की सेवा हस्पिटलमा पुगेका थिए। उनीहरु दुवै जनाको पोखरामै स्वाब नमुना लिएर परीक्षण गरिएको थियो।