नारायणी अस्पतालमा ज्यान गुमाएका राैतहटका पुरुषमा काेराेना पुष्टि

क्षयरोगको समस्यासँग जुधिरहेका रौतहटका एक पुरुषकाे ज्यान गएपछि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि शनिबार वीरगञ्जको नारायणी अस्पतालमा भर्ना गरिएका ती पुरुषकाे त्यही राति ज्यान गएकाे अस्पतालले जनाएको छ ।

नारायणी अस्थायी कोरोना अस्पतालका इन्चार्ज डाक्टर उदयनारायण सिंहका अनुसार शनिबार राति ८ बजे ज्यान गुमाएका रौतहटको गौर नगरपालिका १ काे हनुमान चोकका ३२ वर्षीय पुरुषमा आइतबार साँझ कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

शनिबार ज्यान गएपछि उनको स्वाब सङ्कलन गरी परीक्षणकाे लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो ।

यसअघि पनि वीरगञ्जमा उपचारको क्रममा रौतहटका एक जना कोरोना सङ्क्रमितको ज्यान गएकाे थियो । योसँगै वीरगञ्जमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या २८ पुगेको छ । अहिलेसम्म पर्साका २० जना, बाराका पाँच जना र रौतहटका दुई जना र एक जना पहिचान नखुलेकाे पुरुषकाे ज्यान गएकाे हाे ।

प्रकाशित मिति: : 2020-08-16 23:18:35

प्रतिकृया दिनुहोस्