सरकारले मास्क प्रयोग नगर्ने चार लाख १९ हजार बढी व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ।
सरकारले नेपालमा फैलँदै गएको कोरोनाका कारण लागू गरेको लकडाउनपछि मास्कको प्रयोग नगर्ने देशभरका व्यक्तिलाई नियन्त्रणमा लिई चार लाख १९ हजार ५ सय ३८ जनालाई नियन्त्रणमा लिएर तीन लाख ५४ हजार ८ सय २४ जनालाई सम्झाईबुझाई छोड्एको गृह मन्त्रालयका प्रवक्ता, सहसचिव चक्रबहादुर बुढाले जानकारी दिए।
यस्तै ३९ हजार ५ सय ७ जनालाई मास्क वितरण गरिएको मन्त्रालयले जनाएको छ भने २५ हजार २ सय ७ जनालाई जरिवाना तिराइएको छ।
अनुमतिबिना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने सात हजार ६ सय ३५ सवारी साधन र करिब १९ हजार ४ सय ८३ यात्रुलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको प्रवक्ता बुढाले जानकारी दिए।
मन्त्रालयले कोभिड–१९ को बढ्दो सङ्क्रमण नियन्त्रणका लागि जारी निर्देशनको कडाइपूर्वक कारबाही गर्ने कार्य निरन्तर जारी रहेको जनाएको छ। सरकारले कोभिड–१९ नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयद्वारा जारी जनस्वास्थ्य मापदण्ड र गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्डको पूर्ण रुपमा पालना गर्न उनले सबैलाई आग्रहसमेत गरेका छन् ।
मन्त्रालयले यातायातमा जोरबिजोर प्रणालीको पालना गर्ने, अनिवार्य रुपमा माक्सको प्रयोग गर्नेलगायत निर्देशनलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन सबैलाई निर्देशनसमेत दिएको छ।
काठमाडाैं उपत्यका भित्र ५ वटा, ललितपुर र भक्तपुर जिल्लामा ४/४ वटा अनुगमन टोली परिचालन गरी अनुगमन तथा कारबाहीलाई तीव्र बनाइएको छ।
यस्तै खाले अनुगमन टोली परिचालन गरी साप्ताहिक कार्य प्रगति पठाउन अन्य जिल्लाहरूलाई समेत मन्त्रालयले निर्देशन दिएको प्रवक्ता बुढाले बताए।