बुटवलको कोरोना विशेष अस्पतालमा कपिलवस्तुका २ पुरुषको मृत्यु

कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा दुई जनाको मृत्यु भएको छ।

कोरोना लक्षण देखिएर अस्पतालमा भर्ना गरिएका कपिलवस्तु तौलिहवाका २५ र कृष्णनगरका ४२ वर्षीय पुरुषको मंगलबार राती मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए।

उनका अनुसार मृत्यु हुनेमध्ये एकजना कोरोना भाइरसको संक्रमण पुष्टि भएका व्यक्ति हुन् भने अर्का व्यक्तिको पीसीआर रिपोर्ट आउन बाँकी छ।

कोरोनाको लक्षण देखिएर २५ गते भर्ना भएका कपिलवस्तुका ४२ वर्षिय पुरुषमा सोही दिन नै पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएको थियो।

सोही दिनदेखि उनलाई भेन्टिलेटरमा राखेर उपचार जारी राखिएकाे थियो। मंगलबार राती स्वास्थ्यमा थप समस्या देखिएर उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

कपिलवस्तुका २५ वर्षीय युवालाई हिजो मात्रै प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि ल्याइएको थियो। उनलाई त्यहाँको अस्पतालले रिफर गरेर राति १२ बजे ल्याइएको थियो भने २ बजे मृत्यु भएको डा. गौतमले बताए।

उनको स्वाब संकलन गरी परिक्षणका लागि पठाइएको छ।

प्रकाशित मिति: : 2020-08-12 09:19:57

प्रतिकृया दिनुहोस्