कविहरुले कवितामा
गीतकारहरुले गीतमा
र आख्यानकारहरुले उपन्यासमा
बयान गरे जस्तै गरी
मैले पनि थुप्रै बयान गरेँ आमालाई
धर्ती र संसारको विम्ब बनाएँ
गुरु र भगवानभन्दा माथिल्लो दर्जामा राखेँ
के चाहिँ भन्न बाँकी राखेँ होला र
गोल भूगोल नै आमा हुन भनेँ।
आमाले गाउने गीत
सुख र दु:खको लयले भरिएको हुन्थ्यो।
म दु:खी भएँ भन्न पनि गीत गाइरहनुहुन्थ्यो
म खुसी छु भन्न पनि गीत गाइरहनुहुन्थ्यो।
आफ्नो जिन्दगीलाई सुर र लयमा भरिरहनु भो।
आमालाई मैले कोहिली हुन भनेँ।
आमा भान्सा नै भरि हुन्थी
चोटा नै भरि हुन्थी।
आमा गोठ नै भरि हुन्थी।
घुर्यानी नै भरि हुन्थी।
मेरो आँसुमा हुन्थी
मेरो मुस्कान नै भरि हुन्थी।
सलवलाई रहनुहुन्थ्यो चारैतिर
मैले आमालाई बतास हुन भने।
कहिले काहीँ म
अगेनानीर सुस्ताउथेँ आमाको पर्खाइमा
अँध्यारोमा आमाको पैतालाको आवाज सुनेर
यी नि त मेरै आमा हुन भनेर अड्कल लाउथी।
मैले आमालाई कोहिनुर हुन भने।
कहिले सिम झार जस्तै लाग्ने
कहिले गोबर जस्तै लाग्ने
कहिले माटोको बास्ना जस्तै लाग्ने
यी सब बास्ना मिसिएर
आमाको शरीरबाट
मेहनतको मिठो बास्ना आउथ्यो।
आमाले आफ्नै डोबहरुलाई सम्हालिँदै गर्दा
लड्नु हुन्थ्यो र फेरि उठ्नुहुन्थ्यो।
आँखाहरुबाट सपना पत्करझै झर्थ्यो।
फेरि पलाइ जान्थ्यो।
जब पालुवा फुल्थ्यो पहाड मुस्कुराउँथे
मैले आमालाई गुराँस हुन भनेँ।
कहिलेकाहीँ मनलाई चिस्याएर
हिउँजस्तै जम्नु हुन्थ्यो।
र, फेरि निश्चल पानी झै बगिरहन्थ्यो,
आफ्नाे जिन्दगीको आयामहरुसँग।
मैले आमालाई हिमाल हुन भनेँ।
घर पोतिरहेको हत्केलाले
अनुहारमा उडेको कपाल पन्छ्याउँदै गर्दा
रातो माटो लतपतेपछि हो
आमा झनै सुन्दर देखिनु भएको।
के चाहिँ भन्न बाँकी राखेँ होला र
यो दुनियाँमा सबै भन्दा राम्री आमा हुन भनेँ।
आमाको परिभाषा दिएर कहिले थक्क्दिनँ
यस्तै भनेर गफ लगाएछु मैले।
आमालाई वर्णन गरेर कहिले निख्रिदैन
यस्तै सोचेछु मैले
म त भ्रममा रहेछु।
आमाको परिभाषा भन्नु नै आमा रहेछ।
म पहिलेपटक आमा भएको दिन।
आमालाई ‘आमा’ मात्र भन्न पनि
झण्डै अट्केको।