सेज प्राधिकरणको प्रमुखका लागि ६ जनाको आवेदन

विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणको प्रमुखका लागि ६ जनाको आवेदन परेको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सेजको कार्यकारी निर्देशक (प्रमुख) बन्न ६ जनाले आवेदन दिएको जनाएको छ। विशेष आर्थिक क्षेत्र प्राधिकरण कार्यकारी निर्देशक सिफारिस समितिले उक्त सूचना जारी गरी नेतृत्व चयन गर्न लागेको हो।

मन्त्रालयका अनुसार तनहुँका रघुराज काफ्ले र कुमार दाहाल, बागलुङका योगेन्द्र गौचन, काठमाडौंका जनार्दन गुरागाई, गोरखाका डा. चण्डिकाप्रसाद भट्ट र दोलखाका प्रदीपकुमार मैनालीले कार्यकारी प्रमुख बन्न आवेदन दिएका छन्।

भट्ट यसअघि पनि सेजको कार्यकारी प्रमुख भएर काम गरिसकेका छन्।

मन्त्रालयले ०७६ असोज ३० गते र मंसिर ४ गते सूचना प्रकाशित गरी आवेदन मागेको थियो।

मन्त्रालयले सूचना जारी गरी भदौ ६ गते लिखित परीक्षा लिने जनाएको छ। सेजले नेतृत्व नपाउँदा नियमित कामहरु प्रभावित भएका थिए। दुई दशकअघिदेखि सेज स्थापना भएपनि उद्योगीहरु सेजमा उद्योगमा सञ्चालन गर्न आकर्षित हुन सकेका छैनन्। सेजमा स्थापना भएका उद्योगले ६० प्रतिशत विदेश निर्यात गर्नुपर्ने प्रावधान छ। उद्योगीहरुले निर्यातको सीमा अझै घटाउन माग गर्दै आएका छन्।

प्रकाशित मिति: : 2020-08-10 15:42:17

प्रतिकृया दिनुहोस्