जिल्ला अदालत मोरङका एक जना न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार चार जनाको स्वाब संकलन गर्दा एकजना न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए।
न्यायाधीशलाई कोरोना संक्रमण देखिएपछि गरिएको क्यान्ट्याक्ट ट्रेसिङमा रहेका ४० जनाको स्वाब संकलन गर्ने तयारी भइरहेकेा उनले बताए। यसैबिच तीन दिनका लागि जिल्ला अदालत बन्द रहने पौडेलले जानकारी दिए।
सात जना न्यायाधीश जिल्ला बाहिर भएको र एक जना न्यायाधीशमा पनि कोरोना संक्रमण भएपछि मोरङ जिल्ला अदालतमा थुनछेक बहस पनि प्रभावित भएको हो।
नोबेल मेडिकल कलेजका दुई स्वास्थ्यकर्मीमा कोरोना
विराटनगरको नोबेल मेडिकल कलेजमा थप दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ। कलेजका प्रबन्धक नारायण दाहालका अनुसार सोमबार एक जना डाक्टर र एक जना नर्सको कोरोना रिपोर्ट पोजेटिभ आएको हो।
यससँगै नोबेल मेडिकल कलेजमा कोरोना संक्रमित स्वास्थ्यकर्मीको संख्या ४ पुगेको छ। शनिबार नोबेलका दुई जना चिकित्सकमा कोरोना संक्रमण देखिएको थियो ।
कोरोना संक्रमित चिकित्सकलाई अस्पतालले आफ्नै आइसोलेसनमा राखेको दाहालले जानकारी दिए।
विराटनगर महानगरको वडा नम्बर ९ सिल
विराटनगर महानगरपालिकाको वडा नम्बर ९ आइतवार साँझदेखि सिल गरिएको छ ।
अत्यधिक कोरोना संक्रमितहरु पाइन थालेपछि कन्ट्याक ट्रेसिङकालागि जिल्ला प्रशासन मोरङको आदेश अनुसार यस वडा ७२ घण्टासम्मका लागि सिल गरिएको हो ।
विराटनगर बजारको मध्य र व्यस्त स्थान मध्ये पर्ने वडा नम्बर ९ मा मात्र आइतबारसम्म ४२ जना संक्रमित फेलापरिसकेका छन् ।
संक्रमितहरु मध्ये २ जनाको मृत्यु भइसकेको छ । सिल गरिएको वडामा सार्वजनिक सवारी आवत जावत गर्न प्रतिबन्ध लगाइएको छ भने अनावश्यक हिँडडुल गर्न पनि दिइएको छैन् ।
समुदायस्तरमा कोरोना संक्रमण हुनथालेपछि १७ साउनदेखि विराटनगर १ भदौसम्मकालागि पुर्ण लकडाउनमा छ ।
विराटनगरमा आइतवार साँझसम्म ३ सय ८२ जना कोरोना संक्रमित फेला परेका छन् ।