वीरगन्जमा एक ४५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
नारायणी कोभिड अस्पताल गण्डमा शुक्रबार राति मृत्यु भएको उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका डाक्टर जेपी जैसवालले जानकारी दिए।
वीरगन्ज-१५ निवासी उनलाई शुक्रबार राति नै अस्पताल ल्याइएको थियो। डा. जैसवालले उनमा श्वासप्रश्वासमा समस्या रहेको र भेन्टिलेटरमा उपचार गर्ने क्रममा मृत्यु भएको जनाए।
उनलाई पहिलादेखि नै थाइरायडको समस्या पनि रहेको अस्पतालले जनाएको छ।
यो सँगै वीरगन्जमा साउन महिनामा मात्र कोरोनाबाट १८ जनाको मृत्यु भएको छ। देशभर भने मृत्यु हुनेको संख्या ७७ पुगेको छ।