विगत ७ महिनादेखि कोरोनाको त्रासमा बसेको विश्व समूदायका लागि के आउँदो ‘दुई दिन’ खुसीको दिन बन्ला? यो प्रश्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का लागि जति जटिल मानिन्छ, त्यति नै जटिल छ, यसको उत्तर पनि।
तर विश्वको शक्तिशाली देश मध्येको एक रुसले केही साताअघि दावी गरेको थियो कि उसले अगस्ट १० देखि १२ को बीचमा अर्थात अबको दुई दिनभित्र कोरोना भाइरसविरूद्धको भ्याक्सिन सार्वजनिक गर्नेछ।
यदी रुसले यसो गरेको खण्डमा मानवजातिका लागि आजको दिन ऐतिहासिक बन्ने छ। किनभने कोरोनाका कारण अहिले मानवजाति माथि ठूलो चुनौती देखिएको छ।
रुसको यो भनाईप्रति डब्ल्यूएचओले शंका जनाउदै आएको छ। उसले कोरोनाको भ्याक्सिन सार्वजनिक गर्ने कुरामा मात्र होइन, भ्याक्सिन निर्माणको प्रक्रिया र यसको प्रयोगको विषयमा पनि प्रश्न उठाएको थियो।
किनभने रुसले दावी गरेको भ्याक्सिन आफ्नो ‘गाइड लाइन’ अनुसार नभएको डब्ल्यूएचओको दावी छ। तर, डब्ल्यूएचओले जे दावी गरेपनि अहिले मानवजातिहरू रुसको दावीलाई लिएर केही आशावादी देखिन्छन्।
किनभने मानिसहरू विगत ७ महिनादेखि कतै हिँड्डुल गर्न पाइरहेका छैनन्। कामकाज ठप्प छ। व्यापार तथा व्यवसाय सुचारु हुन सकिरहेको छैन। मजदुरको पकेटमा घर खर्च चलाउने पैसा छैन।
यस्तो अवस्थामा रुसको दावीप्रति आशावादी देखिनु आम मानिसको बाध्यता पनि हो।
विभिन्न शक्तिबद्र्धक औषधिमा रिसर्च गर्न रुस पहिलेदेखि नै माहिर मानिन्छ। लुकेर गर्ने र डब्ल्यूएचओको ‘गाइड लाइन’ भन्दा बाहिर रहेर गर्ने यस्ता रिसर्चका लागि रुसको आलोचना पनि हुँदै आइरहेको छ।
खेलकुदमा खेलाडीमाथि अत्याधिक शक्तिबद्र्धक औषधि प्रयोग गरेको आरोपमा रुस लामो समयदेखि प्रतिबन्ध झेलिरहेको छ। रुसको ल्याब यस विषयमा बद्नाम छन् र डोपिङ एजेन्सीले रुसी नीतिको खुलेर विरोध गरेको छ।
गत अप्रिलमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्वास्थ्य विभागका अधिकारीलाई छिटो कोरोना भ्याक्सिनको परीक्षण गर्न आदेश दिएका थिए। यसपछि पहिलो परीक्षण १७ जुनमा ७६ भोलिन्टियरमाथि गरिएको थियो।
रुसी रक्षा मन्त्रालयले अहिलेसम्म गरिएको परीक्षण सकारात्मक रहेको, कुनै ‘साइड इफेक्ट’ नदेखिएको र मानिसको रोगसँग लड्ने क्षमता बढेको दावी गरेको छ।
यसै साता रक्षा मन्त्रालयले रामालेया रिसर्च सेन्टरसँग मिलेर गरिएको प्रयोग सफल भएको र १२ अगस्टसम्ममा भ्याक्सिन दर्ता भइसक्ने दावी गरेको थियो। उसले यतिबेला तेस्रो चरणको परीक्षण भइरहेको र त्यो सकारात्मक दिसामा अगाडि बढेको बताएको थियो।
रुस सरकारले आफूले उत्पादन गर्ने भ्याक्सिनको पहिलो डोज बृद्धबृद्धा तथा स्वास्थ्य कर्मचारीलाई दिइने स्पष्ट पारिसकेको छ।
रुसले अहिलेसम्म १६ सय व्यक्तिमाथि भ्याक्सिनको प्रयोग भएको र सबै नतिजा सकारात्मक र प्रभावशाली भएको दावी गरेको छ।