कोरोना महामारी २ करोड नाघ्यो, २० दिनमा ५० लाख बढी संक्रमित

बिएल संवाददाता

स्विट्जरल्याण्ड, यूराेप ब्यूरो

कोरोना भाइरसको संक्रमण कम हुने सम्भावना तत्काल देखिएको छैन। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हालै सर्वजनिक गरेको रिपोर्टमा अधिक सावधानी नअपनाएको खण्डमा कोरोना संक्रमणको समस्या दुई गुणाले बढ्न सक्ने चेतावनी दिइएको छ। 

डब्ल्यूएचओले विशेष गरेर युवाहरूलाई पार्टी तथा भिडभाडबाट जोगिन आग्रह गरेको छ। पछिल्लो समय युरोप तथा अमेरिकाका युवाहरू छुट्टी मनाउन समुन्द्र किनारमा जम्मा हुने तथा पार्टी गर्ने परम्पराले उच्च जोखिममा परेका छन्। 

‘वल्र्ड ओ मिटर’ को तथ्यांक अनुसार विश्वमा कोरोना संक्रमितको संख्या २ करोड नाघेको छ। सोमबार बिहानसम्म यसको तथ्यांक २ करोड २१ हजार ३ सय २१ पुगिसकेको छ। 

पछिल्लो २० दिनभित्र संक्रमितको संख्या ५० लाख नाघेको डब्ल्यूएचओको तथ्यांकमा उल्लेख छ। तर, यसमा १ करोड २९ लाख मानिसले स्वास्थ्य लाभ पनि गरेका छन्। 

संक्रमणकोे हिसाबले अहिले विश्वमा पहिलो नम्बरमा अमेरिका अगाडि नै देखिएको छ। दोस्रो नम्बरमा ब्राजिल र तेस्रोमा भारत छ। चौथोमा रुस र पाँचौमा दक्षिण अमेरिका रहेको छ। 

हाल अमेरिकामा ५१ लाख ९९ हजार संक्रमित फेला परिसकेका छन्, जहाँ मर्नेको संख्या पनि अत्याधिक छ। अमेरिकामा १ लाख ६५ हजार ६ सय १७ जनाको निधन भएको छ। यो संख्या अन्य देशको तुलनामा सर्वाधिक हो। 

अमेरिकापछि ल्याटिन अमेरिकी राज्य ब्राजिलमा ३० लाख ३५ हजारभन्दा बढी संक्रमित फेला परेका छन्। ब्राजिलमा पनि मर्नेको संख्या १ लाख नाघिसकेको छ। अमेरिका र ब्राजिल मात्र यस्ता देश हुन, जहाँ मर्नेको संख्या १ लाख कटेको हो। 

भारतमा २२ लाख १४ हजार १ सय ३७ जना संक्रमित देखिएका छन्, जहाँ ४४ हजार ४ सय ६६ को निधन भइसकेको छ।

 यसपछि रुसमा ८ लाख ८७ हजाभन्दा बढी संक्रमित भएका छन्। तर रुसमा मर्नेको संख्या अन्य देशको तुलनामा कम छ। यहाँ १४ हजार ९ सय ३१ जनाको निधन भएको छ। 

दक्षिण अफ्रिकामा ५ लाख ६० हजारको हाराहारीमा संक्रमित फेला परेका छन् र मर्नेको संख्या १० हजार ४ सय ८ पुगेको छ। हालसम्म विश्वव्यापी रूपमा ७ लाख ३३ हजार ९ सय १८ जनाको निधन भइसकेको छ।

प्रकाशित मिति: : 2020-08-10 07:44:23

प्रतिकृया दिनुहोस्