२०६४ साल असाेज महिनामा जुम्ला चन्दाननाथ नगरपालिका-१० की झुन्का सार्की अचानक बिरामी परिन्। उनी तत्कालीन कर्णाली अञ्चल अस्पतालमा भर्ना भइन्। १३ दिनसम्म भर्ना हुँदा पनि बीसकाे उन्नाईस भएन।
उनकाे अवस्था झन् गम्भीर बन्दै थियाे। थप उपचार जुम्लामा नहुने भएपछि 'कर्णाली अञ्चल अस्पताल'बाट 'भेरी अञ्चल अस्पताल, नेपालगञ्जमा 'रिफर' गर्नुपर्ने भयाे।
स्वास्थ्य क्षेत्रमा लामाे समय काम गरेकाे एनजीओ– आईएनएफले उनलाई एकतर्फी हवाई भाडा दिने भयाे। साथमा उनका पति पराने सार्की कुरुवाका रुपमा जाने भए। उनलाई पनि भाडा दिएपछि सहज भयाे।
'नेपालगञ्ज गएपछि एक साता अस्पतालमा भर्ना भयाैं। त्यसपछि सञ्चो भयाे। राेग के हाे? के कारणले म बिरामी भएँ, मलाई पनि थाहा भएन,' उनले भने, 'आउने बेलामा एकतर्फी भाडा आफैँ हाल्नुपर्यो। ऋण लाग्याे। त्यहाँ बस्ने बेलामा खाना खर्च पनि लाग्याे। २० हजार जति खर्च भए हाेलान्।'
जुम्लामा कर्णाली अञ्चल अस्पताल हुँदा कहिलेकाहीँ चार/पाँच जना डाक्टररु आउँथे। अस्पताल पनि ठूलै थियाे तर कहिलेकाहीँ त अस्पतालमा डाक्टर नभएर शून्य हुन्थ्यो।
जिल्ला अस्पताल हुँदा अहेबले चलाउँथे, हेल्थ असिस्टेण्ट मुख्य मान्छे जस्ता हुन्थे। सिटामाेल पाउन मुस्किल हुने जिल्ला अस्पतालकाे ठाउँमा अञ्चल अस्पताल खुलेपछि धेरैलाई धेरै परिवर्तन भएजस्ताे लागेकाे चन्दननाथ नगरपालिकाका ७२ वर्षीया विर्ख बुढथापाले बताए।
'अञ्चल अस्पताल भएपछि कहिले डाक्टर आएर राम्रै सेवा दिन्थे तर कहिले अस्पताल शून्य नै हुन्थ्यो,' त्यतिबेलाकाे स्थिति सम्झँदै उनले भने, 'त्यस्ताे बेला जिल्ला अस्पताल र अञ्चल अस्पता एकैनासे लाग्थ्याे। औषधि नपाइने दिसा, पिसाब, रगत जाँचलगायत सुविधा खासै थिएन।'
जिल्ला अस्पताल हुँदा गाउँमा कति बिरामी हुन्थे, कति मर्थे, केही तथ्यांक थिएन। कति धामी–झाँक्रीकाे भर पररे मर्थे तर अस्पताल आउने चलन थिएन। त्यस कारण जिल्ला अस्पतालले ठूला समस्या व्यहोर्नुपरेकाे थिएन।
अञ्चल अस्पताल बनेपछि केही सामान्य राेगकाे अनुमानका भरमा औषधि चलाउँदा पनि उपचार भएर बिरामी निकाे भएजस्ताे लाग्ने गरेकाे बुढथापाले बताए।
'तर कहिलेकाहीँ स्वयंसेवा गर्न आएका डाक्टरहरुबाट यहाँका मान्छेले राम्राे सेवा पाउँथे। विदेशी डाक्टर आउँदा यहाँका मान्छे बाँच्थे। भगवान् आएजस्ताे मान्थे,' उनले थपे, 'कति घटनाहरु हामीले देखेका छाैं।'
अञ्चल अस्पतालमा आउने डाक्टर, स्वास्थ्यकर्मीहरु कुनै न कुनै बहानामा अस्पताल छाेड्ने, जतिसक्दो चाँडाे सुरुवा मिलाएर जान रुचाउने हुनाले नै हाेला अस्पतालमा बिरामीले डाक्टरकाे सुविधा नपाएकाे थुप्रै बिरामीहरुका अनुभव छन्।
त्यसैले कर्णाली अञ्चल अस्पताल हुँदा उपचा। कम, 'रिफर सेण्टर' बढी थियाे। आर्थिक अभाव भएका कारण झुन्काजस्ता धेरै बिरामीले अरुकाे सहायतामा ज्यान बचाएका छन् भने कतिले अकालमा मृत्यु वरण गर्नुपरेकाे थियाे। त्यसैले मानव विकास सूचकाङ्क मापनमा कर्णालीबासीकाे औसत आयु राजधानीकाे भन्दा दाेब्बरले कम छ।
यस्ता तमाम समस्याहरुबाट मुक्ति पाउन तत्कालीन पहिलो संविधानसभाकाे निर्वाचनबाट निर्वाचित सांसद नरेश भण्डारीले २०६८ कात्तिक ३ गते संसदमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे 'गैरसरकारी विधेयक' दर्ता गराएका थिए।
नेपालकाे संसदीय इतिहासमा विरलै पास हुने गर्छ– गैरसरकारी विधेयक । नेपालकाे संसदीय इतिहासमा 'कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक' त्यस्तै औँलामा गनिनेमा पर्छ।
विधेयक पारित भएर ऐन बनेपछि खुसी भएका सांसद भण्डारी आजपर्यन्त भनिरहेका छन्, 'सेताे हिउँमा सेता एप्राेन लाउने डाक्टर कर्णालीमा उत्पादन गर्ने हाम्राे पहिलो लक्ष्य थियाे। अब पूरा हुँदैछ।'
प्रतिष्ठान स्थापनाकाे सुरुवाती चरणमा पनि चिकित्सकहरु विकट कर्णालीमा आउन तयार थिएनन्। डाक्टर ल्याउन नसकेर तनाव व्यहोर्ने तत्कालीन रजिस्ट्रार श्याम लम्साल काम गर्न सकिँदैन हाेला भनेर राजीनामा खल्तीमा बाेकेर हिँड्ने गरेका अनुभव सुनाउँछन्।
'बल्लतल्ल आएका डाक्टर विकल्प पाेखरेलकाे अर्घाखाँचीकाे मसिनेमा भएकाे हवाई दुर्घटनामा ज्यान गयाे,' उनले भने, 'उहाँकाे मृत्युले झन् डाक्टरहरुकाे मनमा डर पस्याे। हामीलाई थप सकस भयाे।'
चिकित्सा विज्ञानमा स्नातकोत्तर गरेर वीर अस्पतालमा काम गरिरहेका डा. प्रवीणकुमार गिरीकाे बेग्लै अनुभव छ। घर परिवार सबैको असहमतिका बाबजुद जुम्ला आउने निर्णय गर्दा अन्तिममा केही साथीहरुले भनेका थिए, 'जुम्ला जाने निर्णय त गरिहाल्याै तर जाँदा हवाईजहाजमा नजानू।'
बाटाे खासै राम्राे नबनेकाे तर हवाई यातायातसमेत जाेखिमजस्ताे लाग्ने बाहिरका डाक्टरकाे लागि अर्घाखाँचीकाे मसिनेमा भएको हवाई दुर्घटनाले जुम्ला थप जोखिमपूर्ण ठाउँ बनाइदिएको थियाे।
मनमा डर पसाई –पसाई जुम्ला पुगेका डा. गिरी 'एनेस्थेसिया' र 'क्रिटिकल केयर'काे जिम्मेवारीमा छन्। बढीमा एक वर्ष बस्ने साेच बनाएर जुम्ला पुगेका उनले सात वर्ष प्रतिष्ठानमै बिताइसकेका छन्। उनी अस्पतालकाे सुधाराेन्मुख अवस्थाका कारण पनि त्यहीँ बसेर काम गरिरहेका छन् ।
अस्पतालमा बिरामीकाे चाप छ । उनीहरुलाई हेर्नुपर्ने बाध्यता त डाक्टरको हुने नै भयो । सुरुवाती चरणमा रहेकाे प्रतिष्ठानमा त्यसबेला उनीलगायत अरु तीन जना डा. निरेश थापा (रेक्टर), डा. पुजन कुमार राेकाया(अर्थाेपेडिक) र डा. सुर्यमान लिम्बू(जनरल फिजिसियन) विशेषज्ञ चिकित्सककाे रुपमा कार्यरत थिए। त्यतिबेला आफ्नाे विषयभन्दा फरक विषयका उपचार पनि गरेका अनुभव उनीहरु चारै जनासँग छन्।
सात वर्षको अन्तरालमा आज प्रतिष्ठानले काँचुली फेरेको छ । लगभग सबै विषयका विशेषज्ञ डाक्टरहरु छन्। हरेक राेगका वैकल्पिक डाक्टरसमेत उपलब्ध छन्। अस्पतालमा १२ जना स्थायी चिकित्सक र करारमा ७० चिकित्सक कार्यरत छन्। यस्तै प्रतिष्ठानमा करिब ४०० स्वास्थ्यकर्मीसहितका कर्मचारी रहेका छन्।
सीमित स्राेत–साधन र बजेटमा सुरु भएकाे प्रतिष्ठान आज देशकै नामी स्वास्थ्य संस्थामा गनिन थालेकाे छ भने चिकित्साशास्त्रकाे स्नातकोत्तर तहकाे पढाइ यसअघि नै सुरु भएको छ।
बालरोग, एनेस्थेसिया र एमडीको जनरल प्याट्रिक्समा (जिपी) गरी तीन विषयमा स्नातकोत्तर तहको पढाइ गत वर्षबाट सञ्चालन भएको हाे।
यही मङ्सिर १९ गतेदेखि एमबीबीएस २०, स्नातक तहमा नर्सिङ (बीएन) २० र ब्याचलर अफ फार्मेसी (बी–फार्मेसी) मा २० जना विद्यार्थीको पढाइ सुरु भएको छ। विगत केही वर्षदेखि नै प्रवीणता प्रमाणपत्र तह नर्सिङ, हेल्थ असिस्टेन्ट, ब्याचलर अफ पब्लिक हेल्थ (बिपीएच) सुरु भइसकेको छ।
'निकै कठिन संघर्ष गरेर कर्णालीले स्वास्थ्य क्षेत्रमा फड्काे मारेकाे छ,' उनले भने, 'अब बजेट र साधनस्रोतकाे व्यवस्थापन मुख्य चुनाैती हुनेछ तर जनशक्तिकाे अभाव हुनेछैन।'
प्रतिष्ठान स्थापनाले कर्णालीका नागरिकले सेवा त पाएका छन् नै यसले कर्णालीकाे स्वास्थ्य सूचकाङ्कमा समेत उल्लेख्य सुधार ल्याएकाे छ।
एउटा उदाहरण लिऊँ– प्रतिष्ठानको स्थापना भएसँगै ९६ प्रतिशत महिलाले गर्भवती जाँच गर्ने गरेको र ६२.३ प्रतिशत महिलाले दक्ष स्वास्थ्यकर्मी प्रसूति सेवा लिने गरेको तथ्यांक छ।
प्रतिष्ठान स्थापनाले त्यस क्षेत्रवरपर व्यापार बढाएकाे छ भने भाैतिक संरचनाकाे पनि प्रशस्तै विकास भएकाे छ।
एक दशकअघिसम्म खासै भाैतिक संरचनाकाे विकास नभएकाे प्रतिष्ठान वरपर ठूला भवन बनेका छन् भने व्यापार पनि राम्रो भइरहेको प्रतिष्ठाननजिकै हाेटल संचालन गरिरहेका गाेविन्द खत्रीले बताए।
'मेराे हाेटलमा एकै दिनमा पचास हजारसम्मकाे काराेबार भएकाे अनुभव छ। याे प्रतिष्ठानकाे देन हाे। यहाँ छ जनाले राेजगारी पाएका छन्,' उनले भने, 'प्रतिष्ठान हुँदैनथ्यो भने न हाम्राे हाेटल यता हुन्थ्याे न त राेजगारी नै सृजना हुन्थ्यो।'
उनकाअनुसार आज प्रतिष्ठान वरपर आठदेखि दश वटा क्यान्टिन छन्। सबैले दुई/तीन जनालाई राेजगारी सृजना गरिरहेका छन्। लगानी गरेर ठूला घर बनाउनेहरुले भाडा अशुल गरेर लाभ लिइरहेका छन्। याे सबै प्रतिष्ठानकै योगदान हाे।