बाँकेमा तेस्रो पटक तीन दिनसम्म पुनः निषेधाज्ञा

कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभरि तेस्रो पटक आइतबारदेखि तीन दिनसम्म पुनः निषेधाज्ञा लगाएको छ।

बिहीबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो। शनिबार राति १२ बजेदेखि लागु गरिएको निषेधाज्ञा मंगलबार राति १२ बजेसम्म लागू हुने प्रशासनले जनाएको छ।

निषेधाज्ञामा अत्यावश्यकीय कामबाहेक घर बाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ। प्रशासनको आग्रहलाई अटेर गरी अनावश्यकरूपमा हिँडडुल गरेको पाइएमा कानूनबमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए। 

निषेधाज्ञाको अवधिमा स्वास्थ्य, सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, दूध तथा दुग्धजन्य पदार्थ, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल तथा तरकारी र खाद्यान्न आपूर्ति सेवा सञ्चालन गर्न पाइने छ।

त्यसैगरी एम्बुलेन्स, शवबाहन, दमकल, झण्डावाला र कूटनीतिक नियोगका सवारी साधन, लामो दूरीका मालवाहक गाडी र सवारी अनुमति (पास) भएका गाडी मात्र सञ्चालनमा आउन पाउनेछन्।

नेपालगञ्जमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एकै दिन ३० जनामा संक्रमण देखिएकाे थियाे।

आन्तरिक राजश्व, यातायात व्यवस्था कार्यालयका कर्मचारी र व्यस्त रहने त्रिभुवनचोकको एक मिठाइ पसल सञ्चालकमा कोरोना संक्रमण देखिएपछि उच्च सतर्कता अपनाइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।

बाँकेमा हालसम्म कोरोनाबाट दुई जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ४३७ पुगेको छ।

प्रकाशित मिति: : 2020-08-02 12:29:05

प्रतिकृया दिनुहोस्