भूकम्पग्रस्त घरको पिंढीमा बसेर
सम्झनाको नाँग्लोमा
निफनिरहेकी छिन् आमा, जिन्दगीका अनगिन्ती कनिकाहरु
संम्झनाका नङ्ग्राहरूले चिथोर्छन्
आमाको अनुहारमा परेका उमेरका मुजाहरु
दश नङ्ग्रा खियाएर
रगत र पसिना घोलेर
आमा मकै, कोदो, फापर होइन
खेतबारीमा हराभरा जीवन फलाउँथिन्
कहिले मरुभूमि नदेखेकी
आमाका पाखुरीहरुलाई आज गिज्याइरहेछन्
बाँझो र बञ्जर भएका तिनै खेतबारीहरुले
औँसीको कुनै रात
आँखामा सपना बालेर
हामी देश बदल्ने तपाईंका छोराहरू हौँ भन्दै
आएका थिए एक हुल मानिसहरु
भनेका थिए
आमा अब तपाईंले ढिकी कुट्ने कष्ट नगर्नुहोला
सूर्य नब्युँझिदै जाँतोमा पृथ्वीजस्तै घुम्नुपर्दैन अब हजुरले
खन्ने कोदालीहरु हामीलाई दिनुस्
तपाईंले चहार्नु पर्दैन आङ सिरिङ्ग हुने भीरपहराहरु
ठीक त्यहीबेला आमालाई लागेको थियो
आफ्नै बुइ चढेका सन्तानहरु हुर्किएछन्
तिनकै बुइ चढ्ने बेला भएछ अब
आफूले देखेको सपनाको हुरी आएजस्तो लाग्यो
अब पत्कर बनेर पछ्याउनेछन् सिर्जनाका हातहरुले
तत्कालै आमाको अनुहारको आकाशमा उदाथ्यो विश्वासको जून
र आँखाको डिलमा उम्रेको थियोे खुशीको एक थोपा आँसु
नसुक्दै ती आँसुहरु
समानताको खेत जोत्दा जोत्दै
एकाएक हराए ती भर्भराउँदा भरोसाहरु
क्रान्तिको छानो छाइ नसक्दै
अचानक बेपत्ता भए ती नडगमाउने कसम खाएका अठोटहरु
उद्देश्यका दाउरा चिरिनसक्दै खोइ कता हराए
कहिले नझुक्ने वाचा गरेका निष्ठाहरु
जसरी हराएको थियो
डोकोमा पानी बोक्दा बोक्दै आमाको लोभलाग्दो बचपन
औँडाहाको अंजिगरले
आमालाई निलेको छ यतिबेला
हो, त्यो तिमी नै होला परिवर्तनको मानसपुत्र भन्ने
आमाको सपना आज धर्मराएकोछ फेरि
आज तिनीहरू नै आमालाई भन्दैछन्
संसार कहाँबाट कहाँ पुगिसक्यो
मोबाइलमै अटाउँछ सिङ्गाे संसार
चन्द्रमामा बस्ती बस्दैछ
आमा! तपाईंलाई केही पनि थाहा छैन
करेसा खोस्रिदा खोस्रिदै
तपाईंकाे जिन्दगी खेर गयो
तपाईंले देखेका सपनाहरुले आत्महत्या गरिसके
अब सपना देख्न छाड्नुस आमा !
आमा केही पनि बोल्दिनन्
चुपचाप सुन्छिन् मात्रै
किनकि आमालाई थाहा छ
उनका सपनाहरुले आत्महत्या गरेका होइनन
तिनको त नियोजित हत्या भएको हो
तर कत्ति पनि निराश छैनन् आमा
एउटा घाम डुब्दैमा उज्यालोको मृत्यु कहाँ हुन्छ र ?