अब काेराेना संक्रमित अस्पताल बस्दा प्रतिदिन ३५ सयदेखि १५ हजारसम्म शुल्क तिर्नुपर्ने !

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचार गर्ने निजी अस्पतालहरुका लागि शुल्क तोकेको छ। 

मन्त्रालयले गरेको निर्णयमा सूचीमा नपरेका निजी अस्पतालहरुमा कोरोना संक्रमितको उपचार गर्न चाहनेहरुले अस्पतालको सहमतिमा उपचार गर्न सक्ने र सेवा शुल्क लक्षण अनुसार तिर्नुपर्ने प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

यसअघि कोभिडको उपचार गर्दै आएका निजी अस्पतालहरुले आफूखुसी शुल्क लिने गरेका थिए।

उनका अनुसार सामान्य लक्षण भएका बिरामीहरुको उपचारबापत सम्बन्धित अस्पतालले प्रतिदिन ३५ सय, मध्यम जटिल बिरामीहरुको उपचारबापत ७ हजार र जटिल अवस्थाका बिरामीहरुको उपचारबापत १५ हजारमा शुल्क लिन पाउने छन्।

त्यसैगरी कोभिड १९ पीसीआर परीक्षणका लागि सूचीकृत नभएका अस्पतालहरुले शंकास्पद व्यक्तिहरुको पीसीआर परीक्षणका लागि तोकिएको शुल्कको १० प्रतिशतमा नबढ्ने गरी सेवा शुल्क लिन पाउने व्यवस्था गरिएको प्रवक्ता डा. गौतमले जानकारी दिए।

प्रकाशित मिति: : 2020-07-30 20:09:17

प्रतिकृया दिनुहोस्