जेठ महिनाभर खेतमा हिलाेसँग खेल्दा खेल्दा पैताला फुटेर चरचर चहर्याउन थाल्छन्। ढाड दुखेर कटकट खाइन थाल्छ। हातका औँलाका टुप्पामा राता डाम बसेका हुन्छन्। कहाँनेर कमजोर ठाउँ भेटौं र ज्वालामुखीझैं बाहिर आउँ भनेर भित्रबाट रगत बल गरिरकाे हुन्छ।
महिना दिन लामो हिलो, माटो र ढुंगासँगको कुस्ती हारेर शिथिल भएका औँला। जसलाई छुनु भनेको जेलका कैदीलाई यातना दिएजस्तो हो। समय नपुगी कैदी यातनाबाट मुक्त नभएझैं हातका औँला पनि मुक्त हुँदैनन्। यो यातना क्रम हरेक बिहान फरक-फरक बेर्नामा बिउ उखेल्न जाँदा बिउका पुला बाँध्ने झ्याँझ्याँका बोट उखेल्न लागेबाटै सुरु हुन्छ।
झिसमिसे बिहानै ओछ्यान छोडेको जिउले साँझ अबेरसम्म पनि ओछ्याउन भेट्न पाउदैन। ओछ्यान भेटिएसँगै ऐठन सुरु हुन्छ। ओल्टिँदा पल्टिँदै फेरि ओछ्यान छोड्ने बेला भैसक्छ। आँखा मिच्दामिच्दै सुरु हुन्छ- महिना दिन लामाे दिनचर्या।
दुखाइको क्रम मैझारोको दिनसम्म मात्र कहाँ हो र ? असारमा खेत गोडुन्जेलसम्म चलिरहन्छ। जेठको पहिलो साता सुरु भएको रोपाइँ महाअभियान असारको पहिलो साता सकिसकेको हुन्छ। पुरुषहरु फुक्का फुल भैसक्दा महिलाहरु फेरि खेतमा पस्न सुरु गर्छन्। रोपाइँको चटारोले सोझिन नपाएको ढाड गोड्ने बेला जुम्ली हलोको डाँडोजस्तो बाङ्गो भैसकेको हुन्छ।
ताताने लागेर पोलेका खुट्टा, कठोर शारीरिक श्रमको दुखाइ खप्न नसकेर जब अनुहार मलिन हुँदै जान्छ तब सम्झना आउँछ माइतीकाे।
पिँयाला पैताला, माल जान्या सुन्तलीका
जानादेउ मैतेला(माइत), बोब सउँराई लागिगयो,
जानादेउ मैतेला(माइत), बजु सउँराई लागिगयो,
जानादेउ मैतेला(माइत), बाबा सउँराई लागिगयो,
जानादेउ मैतेला(माइत), आमा सउँराई लागिगयो।
खेतका आलीबाट गएकाे बिरह कसैले सुन्दैनन्। चेलीहरु माइत जान पाउँदैनन्। अनुहार झन् मलिन बन्दै जान्छ। केही गरी उज्यालिन नसकेकाे मुहार त्यतिबेला मात्र उज्यालो हुन्छ जतिबेला माइतबाट माइतीहरु टुप्लुक्क खेतका आलीमै असाडे पोको पुर्याउन आइपुग्छन्।
चम्किलो मुहारका आँखाबाट दुःख–सुख घोलिएर बगेका आँसु चिउँडो हुँदै खेतको पानीमा मिसिँदा माइतीका गला अवरुद्ध हुन्छन्। केही बोल्न नसकी फर्किन्छन्। तर, टिलपिल आँसु चुहाउँदै खाएका माइतीका टाटे(पुरी) भने संसारकै मिठा परिकारमध्ये एक लाग्छन्।
०००
हामी साेच्छाैँ जेठमा रोपेको धान कार्तिकमा काट्दैमा मार्सी धानकाे चक्र पूरा हुन्छ। तर, यसभित्रका कयाैं कथाहरु छन्। पुरुषहरु लठ्ठ भएर शिवजी हराउने प्रतिस्पर्धा गरिरहेको शिवरात्रिको दिन महिलाहरु भने धानको बेर्ना सफा गर्ने कार्यको सिरोधार्य गरिरहेका हुन्छन् र त्यही दिनबाट धान खेतीकाे चक्र प्रारम्भ हुन्छ।
धानको सग्लो जीवनचक्रमा पुरुषको भन्दा महिलाको योगदान बढी छ। काम बाँढिएका छन्। महिलाका भागमा पुरुषको भन्दा बढी काम पर्छ। कामको भाग बढी पर्नु भनेको दु:ख बढी गर्नु हो। दुबैको सहकार्यमा धान खेती सम्भव भएको छ। तर, श्रमको व्यारोमिटरको रेटिङ महिलातिरै बढी हुन्छ।
खेत जोत्नु, मइ लगाएर दबदबे हिले बनाउनु। बिँगारो लगाएर खेत सम्याउनु। असारमा धान गोडी सकेपछि खेत छाल्नु यी पुरुषका काम हुन्। पुरुष एक्लैले एक घण्टामा रोप्न मिल्ने बनाएको खेत रोपिसकाउन दुई जनी महिलालाई एक दिन पूरै लाग्छ। एउटी महिलाले दुई दिन लगाएर गोडेको खेत छाल्न एक पुरुषलाई आधा घण्टा लाग्छ।
धान काट्ने, झार्ने र घर भित्र्याउन लाग्ने श्रम बराबर हो। आफ्नै खेतमा काम गरेको हो भने बढो फूर्तिसाथ महिलाभन्दा बढी काम गरेको स्वाङ पार्छ। यदि अरुको काम गरेको हो भने ज्याला बढी थाप्छ। महिलाले श्रम सहकार्य गर्छन्। उनीहरुको श्रम सहकार्यको मूल्यभन्दा पनि अर्म-पर्ममा सकिन्छ।
भान्साको भात पुरुषले खान्छन्। रोटी महिलाले। पुरुषले दुई छाक भात खाँदा महिलाले एक छाक भात खान्छन्। भात वा रोटीमध्ये फाइदा जसको बढी भए पनि स्वाद भने भातकै मझेदार मानिन्छ। यसरी भात र जिब्रोसँगको सहकार्यमा महिलाको स्थान दोस्रो हुन्छ।
हिसाब गर्ने हो भने चैत-वैशाख, जेठ-असार र कार्तिक महिनामा धानको काम बढी हुन्छ। ती बाहेक अरु महिनामा जौं, गौं, मकै, कोदो, आलु, सिमी लगायतका बालीनाली भित्र्याउनमा महिलाले नै मेहेनत लगाउनुपर्छ।
सामान्यत: महिलाले दिनको झण्डै १६ घण्टासम्म पनि काम गरेर काममा सधैं पहिलो हुनुपर्छ। तर, खानेबेला जहिले पनि दोस्रो। यसरी महिलाको जिउ, डाढ, औँला शारीरिक श्रमले दुखाउँछ भने मन आफूप्रति समाजले गर्ने व्यवहारले।
यसरी बढी श्रम गर्नु पर्ने महिलाहरुलाई सान्त्वना दिन समाजले असाडे पाेकाेकाे विकास गरेकाे छ। जसमा सेल पुरीलगायत खाने कुरा हुन्छ। हरेक वर्ष माइतीले बिहे गरेर गएकी आफ्नी छाेरीहरुलाई उसकै घरमा गएर असाडे पाेकाे पुर्याउँछन्। पाेकाे आएकाे दिन छाेरीहरु खुसी हुन्छन्। आफ्ना माइतीले दिएका सेल राेटी छिमेकीका अरु महिलासँग बाँडेर खान्छन्।
हरेक वर्षजसाे माइतीहरु असाडे पाेकाे पुर्याउन छाेरी-चेली काम गरिरहैकै स्थानमा पुग्छन्। घरमा मान्छे मर्यो भने त्याे वर्ष माइती आउन पाउँदैनन्। छाेरीचेलीहरु माइती सम्झिदै विरहका गीत गाउँदै काम गर्न थाल्छन्।
बाटती पिपलु पानीकाे धाराे, हुँइ माथि बरैकाे रुख
मुड र डवठी लाेकलै देख्छ, काे देख्छ मनैकाे दु:ख?
शिर र सिन्दुर लाेकैले देख्छ, काे देख्छ मनैकाे दु:ख?