कोरोनाविरुद्धकाे खाेप बनाउने वैज्ञानिकलाई डब्ल्यूएचओले दियो बधाइ, सबैले पाउनुपर्ने माग

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसविरुद्धको खाेपबाट सकारात्मक परिणाम प्राप्त भएकोलाई स्वागत गरेको छ।

बेलायतको अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरुले निर्माण गरेको खाेप सुरुवाती परीक्षणमा सकारात्मक नतिजा आएकाेमा डब्ल्यूएचओले बधाइसमेत दिएको छ।

एस्ट्राजेनेकाको सहकार्यमा निर्माण गरिएको यो खोपको सुरुवाती परीक्षणले मानिसमा खोपको प्रयोग सुरक्षित रहेको देखाएको हो। यसले प्रतिरक्षा शक्ति पनि राम्रो हुने संकेत मिलेको छ। 

यद्यपि फैलिँदो संक्रमणबाट लड्नका लागि अझै धेरै काम गर्न बाँकी रहेको डब्ल्यूएचओले जनाएको छ।

डब्ल्यूएचओका आपतकालीन कार्यक्रमका निर्देशक डा. माइक रेयानले अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकलाई बधाइ दिँदै भने, ‘यो सकारात्मक परिणाम हो। तर अझै लामो यात्रा तय गर्न बाँकी छ, ठूलो संख्यामा परीक्षण गर्नुपर्ने छ।’ 

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले निर्माण गरेको खोपलाई आशलाग्दो खोपको रुपमा हेरिएको छ। गत अप्रिलमा पहिलोपटक कोरोना भाइरसविरुद्धको खोपको परीक्षण करिब एक हजार मानिसमा सुरु गरेका थिए। 

सोमबार प्रकाशित प्रतिवेदनअनुसार सुरुवाती परीक्षणको क्रममा १८ देखि ५५ वर्ष बीचका मानिसमा गरिएको खोपको परीक्षणमा दोहोरो प्रतिरक्षा प्रतिक्रिया (एन्टिबडी र टी–सेल) विकास भएको देखिएको छ।

यद्यपि यसको अन्य सुरक्षात्मक उपाय र ठूलो समूहमा गरिने परीक्षण भने चलिरहेको छ। बेलायतको सरकारले यो खोपको १० करोड डोसको अर्डर दिइसकेको छ।

कोरोनाविरुद्ध हाल विश्वभर २३ खाेप बनाउने काम जारी छ। डा. रेयानले कोरोनाको उपचार खोज्ने दिशामा धेरै खाेपमाथि काम भइरहनु राम्रो भएकाे बताए।

यसैगरी डब्ल्यूएचओका प्रमुख डा. टेड्रोसले कुनै पनि सफल भ्याक्सिन सबै देशका नागरिकले पाउनु पर्ने बताएका छन् 

प्रकाशित मिति: : 2020-07-21 07:08:23

प्रतिकृया दिनुहोस्