जम्काभेट

रंगमञ्चका नायक घिमिरे युवराजलाई ८ प्रश्न (भिडियाेसहित)

नेपाली रंगमञ्चका एक नायक घिमिरे युवराजद्वारा लिखित नाटक विमोक्ष बत्तिसपुतलीस्थित शिल्पी नाटकघरमा मञ्चन भइरहेकाे छ। दर्शकको राम्रो साथ पाइरहेकाे विमोक्षले कस्तो मोक्ष दिन्छ भनेर बिएल नेपाली सेवाबाट नाटकघरमा पुगेका रविन पुन मगर (आइडु)ले नाटककार युवराजलाई जम्काभेटमा ८ प्रश्न गरेका छन्:


शब्दलाई नाटककाे दृश्यमा बदल्नु कत्तिको चुनौतिपूर्ण काम हो ?

यो काम चनौतीपूर्ण नै हुन्छ। लेखिएको टेक्स्टलाई कलात्मक रुपमा दर्शकले मन पराउनेगरी उतार्नु गाह्राे काम हो। यो नाटकमा निर्देशकको मिहेनतले पनि हामी अझ सफल भयौँ। यस्तो काम जोखिमपूर्ण नै हुन्छ। निर्देशक प्रवीन खतिवडाले म्याजिक देखाउनुभयो भनौँ।

तपाईं राम्रो लेखक, निर्देशक, कलाकार हुनुहुन्छ टेक्निकल्ली आउने अप्ठ्याराले निर्देशनको जिम्मा अरुलाई दिनुभएको हो ?

त्याे कुरा पनि हो। मैले कथाहरु लेख्दा त्यसलाई कसरी नाटकमार्फत् भन्ने भनेर प्लान गर्छु। लेखनको स्टकचरमा फरकपन ल्याएको छु। तर, सबै काम आफैंले गर्दा बायस हुने डर हुन्छ। त्यसैले पनि मैले निर्देशनको जिम्मा अरुलाई नै दिएको हुँ। जसले गर्दा दुबै जना आइडिया शेयर भएर नाटक अझ राम्रो हुन सक्यो।

तपाईं त अनुभवी नाटककार हुनुहुन्छ, अहिले नयाँ नाटककारका च्यालेन्ज के देख्नुहुन्छ ?

नयाँ नाटक लेखनमा दुईवटा समस्या देख्छु। एउटा कथा भन्ने तरिका नयाँ ढंगले भन्नुपर्ने हुन्छ। अर्को, चरित्र निर्माण गर्दा विश्वसनीयता हुनुपर्छ। नाटकमा अभिनय गर्ने पात्र नै बोल्नुपर्छ। त्यहाँ लेखक हावी हुनुहुँदैन। यो दुईवटा कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ। यी दुई कुरालाई सन्तुलनमा राखेर लेख्दा मात्रै नाटक सफल रहन्छ जस्तो लाग्छ।

सिंगाे नाटक नै दुई चरित्रले पूर्ण भएको छ, १ घण्टा २० मिनेट लामो समय दर्शकलाई मनोरञ्जन दिन सक्नु गाह्राे होइन ?

हो, तपाईंले भनेझै एकदमै च्यालेञ्ज नै थियो। दुई जनाको कथा हो। तर, दुई जनाकै कथा मात्रै भनेको भए चाहिँ दर्शकमाथि अन्याय हुन्थ्यो। मोनोटोनस् हुन सक्थ्यो। तर, दुई जनाको कथालाई फ्लास् ब्याक र प्रिजेन्ट गर्ने कुरालाई जोडेर बनाउँदा चार जनाले भूमिका देखाउँदा सफल भयौँ। नाटक लेख्दा नै त्यो कुराको ख्याल गरेर लेखेको थिएँ। तर, पनि तपाईंले भने जस्तो दर्शक कहाँ हास्ने हुन्, कहाँ रुने हुन भन्ने कुरा लेख्दा थाहा हुँदैन। तर, जब फर्स्ट सो गरेपछि, ओहो ! यो नाटक मैले नै लेखेको भनेर गर्व लाग्यो। अहिले त म आफैं क्यारेक्टर नै भएकोले क्यारेक्टर हावी भयो। अब त मैले लेखेको हो भन्ने बिर्साइदियो।

नाटक विमोक्षमा तपाईंहरुको कला अभिनयले दर्शकलाई मोक्ष दिनुभयो तर नाटकभित्र चाहिँ कसले मोक्ष पायो होला ?

हो, तपाईंले यो प्रश्न पनि घच्चिकै सोध्नुभयो। नाटक सामान्य रुपमा हेरे पनि यसले उठाएका विषय र विषयले सिर्जना गरेका दृश्यले सोच्न बाध्य नै बनाउँछ। किनकी, यहाँ सोलुसन दिएका छैनौँ। हामी सयौँ वर्षदेखि समतामूलक समाजका लागि लडिँरहेका छौँ। हामीले नाटकमा म्याजिकल सोलुसन दिएर मात्रै हुन्न। नाटकका पात्रहरुले जस्तै संघर्ष अहिले पनि समाजमा गरिरहेका छन्। त्यसैले हामीले त्यसकाे विमोक्षमा मोक्ष दिएका छैनौँ। एउटा सचेत दर्शकले हामी कस्तो समाजमा बाँचेका छौँ भन्ने कुरा मनन् गर्नुहुन्छ। हामी सबै सामूहिक लडाइँमा छौँ।

नाटकको केन्द्रीय कथा यौन र जात व्यवस्थामा छ, यो त संवेदनशील कुरा होइन र ?

हो, यी दुबै कुरा गम्भीर विषय नै विषय नै हुन। समाजले यसलाई सजिलै स्वीकार गर्दैन। हामी दोहोरो चरित्रमा बाँच्छौँ। जात व्यवस्थालाई हामीले बाहिर स्वीकार्छौँ। तर, मनमा द्वैध भावना राख्छौँ। त्यस्तै यौनलाई हामी बाहिर स्वीकार्दैनौँ। तर, भित्र सबैले स्वीकार्छाैँ। हाम्रो जस्तो कन्जर्भेटिभ समाजमा दुबै कुरालाई हामी स्वीकार्न सक्दैनौँ। हाम्रो सोचाइ साँघुरो नै छ। कुनै एउटा विधुवा महिलाले परपुरुषसँगको सम्बन्ध दोस्रो विवाहको बाटोमा हिँड्नुलाई समाजले सजिलै स्वीकार्न नसक्ला तर यसलाई कलात्मक ढङ्गले प्रस्तुत गर्दा दर्शकले मनोरञ्जन पनि लिनुभयो होला।

विमोक्षले उठाएको विषयले दर्शकलाई पनि मोक्ष प्राप्तिको बाटोमा लैजानु तपाईंहरुको उद्देश्य हो ?

पक्कै पनि हो। यो विषयमा बहस भइसकेको छैन। हामी यौनकाे विषयमा महिला र पुरुषको अवस्थालाई चिर्ने प्रयास पनि हो। विवाहित महिला अविवाहित महिलाले पुरुषले जस्तै सजिलै कुरा गर्न बाँच्नका लागि पनि अर्को बहस सिर्जना गर्नेछ विमोक्षले।

अब बाँकी जोडिने दर्शकलाई के सन्देश दिनुहुन्छ ?

पहिलो कुरा यो नाटक हेर्दा बोर फिल गर्नुहुने छैन। नाटक हेरुन्जेल निदाउनुहुन्न होला। तपाईंलाई नाटक, सङ्गीत, चित्रकला र कला मनपर्छ भने थिएटरमा आएर हेरिदिनुहोला। हामी बस्ने सुन्दर समाजको कल्पना गर्छौँ भने त्यसलाई सुन्दर बनाउने जिम्मा पनि हाम्रै हो। त्यसको लागि पनि तपाईंहरुले नाटक हेर्न आउनुहोला भन्न चाहन्छु।

भिडियाे:

प्रकाशित मिति: : 2023-03-24 19:25:00

प्रतिकृया दिनुहोस्