भारतमा एकैदिन कोरोना भाइरस (कोभिड–१९) का ३२ हजार ६९५ नयाँ संक्रमित थपिएका छन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा ३२ हजार ६९५ संक्रमित भएको जनाएको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीले बिहीबार जानकारी दिएका छन् ।
योसँगै भारतमा कुल संक्रमितको संख्या ९ लाख ६८ हजार ८७६ पुगेको छ ।
त्यसैगरी भारतमा गत २४ घण्टामा कोरोनाका कारण ६०६ जनाको मृत्यु भएपछि कोराेनाबाट मृत्यु हुनेका संख्या २४ हजार ९१५ पुगेको छ ।
भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या ३ लाख ३१ हजार १४६ रहेको छ भने ६ लाख १२ हजार ८१५ जना संक्रमणमुक्त भइसकेका छन् ।
भारतकाे महाराष्ट्रमा संक्रमितको संख्या २ लाख ७५ हजार ६४० पुगेको छ । तीमध्ये १० हजार ९२८ जनाको मृत्यु भइसकेको छ ।
त्यसैगरी तमिलनाडु राज्यमा १ लाख ५१ हजार ८२० संक्रमित हुँदा २ हजार १६७ जनाको मृत्यु भएको छ ।
दिल्ली राज्यमा पनि १ लाख १६ हजार ९९३ जना संक्रमित भएका छन् भने ३ हजार ४८७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।