स्वाभलम्वी पुस्ता: ४

बाबु वैदेशिक रोजगारीमा, आमा परपुरुषसँग: भाइ पढाउँदै रेणु

ईश्वरी राई

काठमाडाै‌ं

केहि समयअघि उनलाई रमाइलो गर्नु नै जिन्दगी हो भन्ने लाग्थ्यो। तर आजभोलि उनी कामप्रति यति दत्तचित्त भएर लाग्ने गरेकी छिन्, बिहानको ५ बजेदेखि बेलुका ७ बजेसम्म उनलाई कामबाट फुर्सदै हुदैन। 

उनी अर्थात रेणु काफ्ले मगर। नयाँ बानेश्वरस्थित 'सुपर कम्पनी' मा कार्यरत रेणु 'मास्क' बनाउने काम गर्छिन्। 

यो कम्पनीमा उनले काम गर्न थालेको २ महिना मात्र भयो। अहिले मासिक १५ हजार रुपैयाँ कमाउने गर्छिन। उनी हालै जय मल्टिपल क्याम्पसबाट 'दश जोड दुई' को परीक्षा दिएर बसेकी छिन्। यसअघि उनलाई घुमफिरमा मात्र रूचि थियो। 

'मैले योभन्दा अगाडि कुनै काम गरेकी थिइन। मलाई त साथीहरूसँग घुम्न र मनोरञ्जन गर्न मात्र राम्रो लाग्थ्यो,' उनले बिएल नेपाली सेवासँग भनिन्, 'तर बाध्यता र परिस्थितिको अगाडि कसको के लाग्दो रहेछ र ? काम गर्नु त जीवनको एउटा अहम हिस्सा रहेछ। जुन कुराको मलाई हाल बोध भयो।' 

रमेश काफ्ले मगर र तारा मगरकी जेठी सन्तानको रुपमा रेणुको जन्म २० वर्षअघि भएको थियो। वास्तवमा उनको स्थायी घर सिन्धुली, तीनकन्या वडा नम्बर ३ हो। तर गाउँ जाने मौका कमै जुर्छ उनलाई। रेणुको एक भाई छन्, जो 'लिटल बड एङ्ग्लिस मिडियम सेकेण्डरी स्कूल' मा अध्यनरत छन्। 

उनले पनि सोहि स्कूलबाट 'सी' को परीक्षा दिएकी थिइन। हाल उनी गोकर्णश्वरस्थित अतरखेलमा बस्छिन्। आमा बुवालगायत ४ जनाका परिवार उनीहरूलाई खान लगाउनमा खासै दु:ख थिएन। तर छोराछोरीको उज्वल भविष्यका लागि रमेश ५ वर्षअघि साउदी भासिए। हालसम्म उनी कन्स्ट्रक्सनमा आबद्ध छन्। 

घरमा रेणु बावुकी सबैभन्दा प्यारी थिइन। बुवाकै मायाले पुल्पुलिएकी उनलाई कहिल्यै केहि चिजको कमि भएन। तर आमाको मायाका लागि भने सधै तड्पिरहन्थिन्। उनले बुवा झैं आमाबाट त्यो प्रेरणा पाउन सकिनन्। त्यसैले उनका लागि आमाभन्दा प्रिय पिता रमेश नै थिए। उनी आमाले आफूलाई स्नेह नगरेको महसुस गर्थिन्। नभन्दै उनले महसुस गरेको कुरा केहि महिनाअघि प्रमाणित भयो, जब आमा तारा परपुरुषका निम्ति परिवार त्यागेर गइन्। 

'कहाँ जानुभयो? किन जानु भयो? त्यो थाहा छैन्, तर हामीलाई माया मारेर जानुभयो' उनले भनिन्। विदेशिएका श्रीमानलाई मात्र होइन, आफूसँगै रहेका सन्तानलाई त्यागेर गएकी आमाको माया नलाग्ने उनको भनाई थियो। 'छाडेर जाने मान्छेको के माया गर्नु र? मैले पनि बिर्सिसकेकी छु' उनी भन्छिन्, 'जाने मान्छे गैहाल्नु भयो।' 

आमाको साथ गुमाएपछि बुवाप्रति झन् बढी सम्मान र माया बढेको उनको भनाई छ। 'बाबा हाम्रै लागि दु:ख गर्दै हुनुहुन्छ, त्यो हामीले बुझ्नुपर्छ। बाबाले गरेको दु:ख खेर जानुहुँदैन', उनले भनिन्। 

बुवाको कमाईमा मात्र निर्भर बस्न नरुचाउने उनी भन्छिन्, 'मैले पनि काम गरेर बाबालाई सघाउनुपर्छ। आखिर काम गर्नसक्ने भैसकेकी छु।' 
उनको अवको उद्धेश्य भनेकै भाईलाई पढाउने र एक्लो बुवा पाल्ने हो। जसका लागि उनी जापान जान चाहन्छिन्। 'नेपालमै बसे भने केहि गर्न सक्दिन जस्तो लाग्छ। त्यसैले जापान गएर धेरै पैसा कमाएर परिवारलाई खुसी बनाउन चाहन्छु। आउँदो दिनहरूमा केहि चिजको कमि नहोस्' उनले भनिन्, 'आफ्नो भन्दा धेरै परिवारकै चिन्ता लाग्छ।'
 

प्रकाशित मिति: : 2020-12-29 20:37:00

प्रतिकृया दिनुहोस्