प्रधानमन्त्री ओलीद्वारा अमिताभ बच्चनको स्वास्थ्यलाभको कामना

प्रधानमन्त्री केपी शर्मा ओलीले काेराेना भाइरसबाट संक्रमित बनेका बलिउड अभिनेता अभिताभ बच्चन र उनका छाेरा अभिनेता अभिषेक बच्चनको स्वास्थ्य लाभकाे कामना गरेका छन्।

आइतवार अपराह्न सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले कोरोना संक्रमित दुवैलाई स्वास्थ्यलाभको कामना गरेका छन्।

‘भारतका महान अभिनेता अमिताभ बच्चन र उनको छोरा अभिनेता अभिषेक बच्चनलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ ओलीले आफ्नो ट्वीटरमा लेखेका छन्।

अमिताभ र उनका छोरा तथा अभिनेता अभिषेक बच्चन, दुवैलाई कोरोना संक्रमण भएपछि शनिबार उनीहरू मुम्बईको नानावती अस्पताल भर्ना भएका छन्। अस्पतालका अनुसार उनीहरूमा कोरोनाका सामान्य लक्षण छ र स्वास्थ्य स्थिर छ।

तर अमिताभको स्वास्थ्य स्थिर भएपनि श्वासप्रश्वासमा सामान्य समस्या देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ‘अमिताभको अवस्था स्थिर भए पनि श्वासप्रश्वासमा थोरै समस्या देखिएको छ,’ हिन्दुस्तान टाइम्सले लेखेको छ।

त्यस्तै अमिताभ बच्चनकी श्रीमती जया बच्चन सहित बुहारी एश्वर्या राय बच्चनकाे रिपोर्ट नेगेटिभ आएकाे छ। 

प्रकाशित मिति: : 2020-07-12 17:56:49

प्रतिकृया दिनुहोस्