नेपाली कांग्रेसका १४औँ महाधिवेशनमा सहभागी हुन कालीकोटकी सुशीला कुमारी शाही शुक्रबार बिहानै ह्वील चेयरमा आइन्।
जोरपाटीमा अस्थायी बसोबास गर्दै आएकी उनलाई केही दिनअघि जिल्लाका नेताले फोन गरेर महाधिवेशन उद्घाटनमा उपस्थित हुन अनुरोध गरे। उनी कांग्रेसको क्रियाशील सदस्य पनि हुन्।
नेताले भनेपछि सुशीलाले इन्कार गर्न सकिनन्। अनि, शुुक्रबार बिहानै ट्याक्सी चढेर महाधिवेशनस्थल भृकुटीमण्डपमा आइन्।
दिउँसो १ बजेदेखि सुरु हुने भनिएको कार्यक्रम करिब एक घन्टा ढिलो सुरु भयो। उनी कार्यक्रमस्थलमा आइपुग्दा भिडभाड बाक्लै भइसकेको थियो।
सुशीला बल्लतल्ल महाधिवेशनस्थलको मुख्य प्रवेशद्वारबाट भित्र छिरिन्। तर, उनले राम्ररी मन्च देख्न पनि पाइनन्। मञ्च नजिकै गएर हेर्न उनले पटक पटक प्रयास गरिन्, तर सकिनन्। त्यो भिडले उनको लागि बाटो छाडेन।
‘अपांगतामैत्री कार्यक्रमस्थल नै छैन। समस्याको के कुरा गरौँ, राम्ररी हिँड्न पनि गाह्राे भएको छ। अहिलेसम्म भित्र छिर्न पाएको छैन’, उनी भन्छिन्।
नेपालका बाटो, सडक, अस्पताल, सरकारी अड्डा, सार्वजनिकस्थलदेखि मन्त्रालयसम्ममा अपांगमैत्री वातावरण नभएको भन्दै उनले गुनासो पोखिन्।
सबेरै कार्यक्रमस्थल आइपुगेकी उनमा नेपालका कुनै पनि राजनीतिक दलसँग कत्ति पनि आशा छैन। ‘कसैले अहिलेसम्म हाम्रो लागि केही गरे जस्तो लाग्दैन। कांग्रेससँग पनि आशा छैन, तर भरोसा भने छ। कांग्रेसले गर्ला नगर्ला थाहा छैन’, उनी भन्छिन्।
महाधिवेशनस्थलमै ह्वीलचेयरमा यताउता गरिरहेका थिए, काठमाडाैंका रामबहादुर श्रेष्ठ। रामबहादुरको राजनीतिक आस्था नेपाली कांग्रेसप्रति छ।त्यसैले उनी महाधिवेशन हेर्न आए। तर, महाधिवेशनस्थलमा अपांगता भएकाहरूलाई केही भए पनि सहज वातावरण नदेखेपछि भने उनको चित्त दुख्यो।
‘कांग्रेस लोकतान्त्रिक पार्टी हो। सबै वर्ग र क्षेत्रका लागि केही गर्छ भन्ने लाग्याथ्यो। तर, यहाँ आएपछि दिक्क लाग्यो। मञ्चसम्म पनि पुग्न पाइएन। त्यसैले बाहिरतिरै घुमिरहेको’, उनी भन्छन्। शाही र श्रेष्ठको मात्रै हैन, महाधिवेशनस्थलमा भेटिएका अधिकांश अपांगता भएका व्यक्तिहरूले यहाँ असहज महसुस गरिरहेका छन्।