अमेरिकामा पछिल्लो एकसातामा कोरोना ग्राफ सिधै उकालो लागेको छ। यसबीचमा चारलाखभन्दा बढी अमेरिकीलाई कोरोना पोजेटिव देखिएको छ भने चारहजारभन्दा बढी मानिसको ज्यान गएको छ।
शुक्रबार ७१,७८७ नयाँ संक्रमित पाइएपछि एकैदिन सबैभन्दा बढी संक्रमित हुनेको नयाँ कीर्तिमान पनि बनेछ। त्यसअघिका दुई दिन दिनहुँ ६० हजारभन्दा बढी संक्रमित भए भने त्यसअघिका तीन दिन संक्रमित हुनेको संख्या ५० हजारभन्दा माथि उक्लियो ।
शनिबार पनि अमेरिकामा ६१,७१९ नयाँ संक्रमित पाइए। यो संख्यासँगै अमेरिकामा कुल कोरोना संक्रमितको संख्या ३३ लाख ५५ हजार ६४६ पुगेको छ। यसैगरी शनिबार ७३३ को मृत्यु भएको छ। यो संख्यासँगै अमेरिकामा मृतकको संख्या एकलाख ३७ हजार चारसय तीन पुगेको छ।
अमेरिकामा गर्मीसँगै सुरू भएको यो कोरोनाको अत्यासलाग्दो संख्यालाई कसरी सम्वोधन गर्ने ट्रम्प प्रशासनको कुनै प्रष्ट नीति देखिएको छैन। ट्रम्पका राजनीतिक सल्लाहकार एक ध्रुवमा देखिएका छन् भने स्वास्थ्य सल्लाहकार अर्को ध्रुवमा छन्।
राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालको सपनामाथि प्रश्नवाचक चिन्ह लगाउने रूपमा बुझेर ह्वाइट हाउसले कोरोना महामारीलाई विपक्षी एजेण्डाका रूपमा डेमोक्रेटिक टकिङ प्वाइन्ट भन्दै बेवास्ता गरिरहेको छ। उसले कोरोनालाई स्वास्थ्यविज्ञानको रूपमा भन्दा पनि फरक अर्थमा लिएर अमेरिकालाई विभाजन गरिरहेको छ। ट्रम्प समर्थकहरू कोरोनालाई डेमोक्रेटिक रोग भन्दै मास्क लगाउने र सोसल डिस्टान्सिङ मान्ने अनि जमघटमा नजानेलाई ट्रम्प विरोधीका रूपमा बुझ्छन्। ट्रम्पका रणनीतिकारहरूले उनको आलोचक हुनु भनेको अमेरिकाविरोधी हुनु हो भन्ने खालको भाष्य तयार गरिरहेका छन्।
हरेक कुरालाई नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावको जोडघटाउसँग लगेर जोडी दिदा अमेरिकामा कोरोना महामारीको सही सम्बोधन भएको छैन र यो झन्झन् विकराल रूप लिइरहेको छ। राष्ट्रपति ट्रम्प कोरोनालाई चिनिया भाइरस भन्दै यसको सारा दोष चीनमाथि थोपरिरहेका छन् भने उनका विरोधी डेमडेमोक्रेटहरू राष्ट्रपति ट्रम्पकै गलत नीतिका कारण लाखौं अमेरिकीले ज्यान गुमाउनु परेको आरोप लगाउँछन्।
विधि र प्रणालीको शासन भनिने अमेरिकामा अब कोरोना पनि भगवान भरोसेको अवस्थामा पुगेको छ। अहिले यो एक किसिमले स्थगित मुद्दाका रूपमा थाति राखिएको जस्तो देखिएको छ। नोभेम्बर ३ को चुनावपछि कस्तो निर्णय आउँछ, त्यसैको आधारमा यसको सम्बोधन हुने सम्भावना बढेको छ।