भ्रम सिर्जना हुने गरी नबोल्न मानव अधिकार आयोगद्वारा मोहना अन्सारीलाई सचेत

राष्ट्रिय मानव अधिकार आयोगले सदस्य मोहना अन्सारीलाई भ्रम सिर्जना हुने गरी नबोल्न सचेत गराएको छ।

समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसदबाट निष्कासन गरेको सम्बन्धमा अन्सारीले असार २३ गते ट्वीटरमा सो कारबाही खेदजनक रहेको व्यक्त गरेपछि आयोग बिहिबार एक विज्ञप्ति प्रकाशन गर्दै उनलाई सचेत गराएको हो।

संविधान, कानुन र दलको विधानले दिएको अधिकार प्रयोग गरी सरिता गिरीमाथि गर्न लागेको कारबाहीलाई खेदजनक तथा कथित् छानबिन प्रतिवेदन भनी दलको अधिकारलाई निस्तेज पार्ने गरी अन्सारीले सामाजिक सञ्जालमा धारणा व्यक्त गरेकोले सचेत गराइएको आयोगका अध्यक्ष अनूपराज शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

बिहीबार निकालेको आयोगको ध्यानाकर्षण पत्रमा अन्सारीले व्यक्त गरेका भनाइलाई आयोगले अस्वीकार गरेको स्पष्ट पारेको छ।

‘आयोगको असार १५ मा सदस्यहरूलाई भ्रम सिर्जना हुने गरी नबोल्न सचेत गराइएको हो। तथापी यस किसिमका भनाइ ट्वीटरमा आउनु खेदजनक छ। तसर्थ यसमा कोही पनि भ्रममा नपर्न जानकारी गराइन्छ,’ पत्रमा भनिएको छ।

हेर्नुहोस् पत्र

प्रकाशित मिति: : 2020-07-09 17:13:31

प्रतिकृया दिनुहोस्