शनिबार, १२ जुलाई २०२५

हत्या स्वभाविक मान्ने राज्यले 'सभ्य समाज' निर्माण गर्न सक्दैन

बिएल संवाददाता

बिएल संवाददाता

जाजरकोट
2021-05-24 12:05:00
Breaknlinks
• • •

जाजरकोटकाे भेरी नगरपालिका ४ खलंगाका नवराज वि.क २०७७ जेठ १० गते कथित उपल्लो जातकी युवतिसँग प्रेम गरेकै कारण मारिए।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका २ सोति गाउँमा केटी लिन गएका नवराजसँगै उनका पाँच जना साथीहरुको सामूहिक चिहान बन्यो, बगिरहेको भेरी नदी।

नवराजको यस प्रकारको मृत्युले देशदेखि परदेशसम्म रहेका सारा नेपालीको आत्मालाई नराम्ररी छोयो। लाखौँले नवराजको नाममा शब्दको श्रद्धाञ्जली चढाए।। दुःख गरी हुर्काएको एउटै छोरा कसैको हातबाट निर्मम तरिकाले मारिनुको पिडा आजिवन बोकेर बाँच्न विवश भए, नवराजका बा-आमा।

आखिर के राखेको छ जातमा, जसले मान्छेको जीवन अस्तित्व नै मेटाई दिन सक्छ? यो घटना हाम्रो पुस्ताको सबैभन्दा क्रूर परिदृष्य हो। जातीयताको नाममा घटेको यति ठूलो मानव अपराधलाई एकदिन समयले सराप्ने नै छ। 

“मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन।”

महाकवि लक्ष्मि प्रसाद देवकोटाको यो उद्गारले कति ठूलो सन्देश प्रवाह गरेको छ। यो सृष्टिका अरबौ प्राणीहरुमध्ये सर्वश्रेष्ठ प्राणी मानिस हुनुको एउटै कारण हो, उसँग दिल छ। आत्मियता छ। यहि दिल र आत्मियता भन्नु नै प्रेम हो। सहिष्णुता हो।

मानिसभित्रको सहिष्णुताले नै समग्रमा मानव समाजको निर्माण भएको हो। यदि सबै मानिससँग उस्तै दिल र आत्मियता हुन्छ भने कसरी फरक जात हुन सक्छ मान्छेको? यो सोचनीय विषय होईन र? 

सबैले टेक्ने धर्ति र देख्ने आकाश एउटै छ। श्वास फेर्ने हावा र पिउने पानी एउटै छ। आखिर समाज व्यवस्थापनमा सबै मानिसको कामको समान भूमिका र महत्व छ।

अब केही क्षण सर्जक तथा गायक यस कुमारका शब्दहरुलाई हेरौँ,

म आफ्नै आँगनमा ईनार बनाउँछु
मेरो भगवान्लाई मेरै छातिमा सजाउँछु
मलाई धारामा रोक, चाहे मन्दिरमा छेक
म आफ्नै बेग्लै संसार बनाउँछु 
जहाँ बोलिमात्र छ, व्यवहार छैन
जहाँ मान्छेले मान्छेलाई मान्छे सोचिन्न
म यस्तो नगरमा कसरी रमाउँछु
त्यसैले अलग्गै संसार सजाउँछु
आमा मलाई कहाँ जन्म दियौ, यो संसारमा म जिउन सकिनँ?
बाबा मलाई कस्तो कर्म दियौ यो दुनियाँमा म रम्न सकिनँ

 
यी शब्दहरुको भावबोध गर्ने हो भने समाजमा दलित भएर जिउनुको पिडाबोध सहजै गर्न सकिन्छ। यो गीतको सृजना रहरमा भएको हाेइन। गायक यस कुमारले यो गीतको सृजना गर्नुअघि उनले भोगेकोे मानसिक प्रताडना कति छ भनेर हामी थोरै कल्पना मात्र गर्न सक्छौँ।

मान्छेले शब्दमा अभिव्यक्त गर्ने भावहरु भोगाईको सानो हिस्सामात्र न हो। सबै भोगाईका आर्तनादहरु कहाँ अभिव्यक्त हुन सक्छन् र?

इतिहास हेर्ने हो भने जातीयताको सन्दर्भ शासन प्रणलीसँग जोडिएर आएको पाइन्छ। सत्ताको बागडोर सम्हाल्ने व्यक्तिहरुले आफ्ना रैतिहरुलाई काम र सीपको आधारमा जातको उपमा दिएको र त्यही शिल-शिला जातीय संस्कारको रुपमा झांगिदै गएको तितो यथार्थ हामी माझ छ।

संस्कार र संस्कृति जानेरभन्दा पनि मानेर आएका रिती र परम्परा हुन्। हामीले चाहने हो भने धेरै थोक,धेरै प्रकारका सामाजिक कुप्रथाहरुको अन्त्य गर्न सक्छौं। विगतका दिनमा काम र सीपको आधारमा जातियताको वर्गिकरण गरियो।

जसरी फलामबाट औजार बनाउनेहरु, सुनका गर-गहना बनाउनेहरु, कपडा र जुता सिलाउनेहरु तथा मनोरन्जनको क्षेत्रमा काम गर्नेहरुलाई तल्लो जातमा गनियो। तर अहिलेको समयसम्म आईपुग्दा के यस्तो प्रकारका काम गर्ने सबै दलितहरु नै हुन् त? यदि होइनन् भने हामी कसलाई दलित भनिरहेका छौँ ? यो आत्मसात गर्नैपर्ने विषय छ र हो। 

समाजमा दलित मानिनेहरुसँग सँगै खान र हिँड्न मिल्ने। प्रेम गर्न र उनीहरुसँग रतिरागमा सहभागी हुन पाउने तर विवाह मात्र किन बर्जित गर्न खोजिरहेका छौँ, हामी? जातको नाममा कति दिनसम्म मानवता,स्वतन्त्रता र प्रेमलाई कठघरामा राख्न सकिएला? एक दिन यसको जवाफ पनि समयले दिने नै छ।

मान्छे मान्छे एउटै हो नि  फरक किन भो 
श्रम चल्छ सिप चल्छ पानि नचल्ने भो 
बनाउँछौ हामीले सुन्दर मुर्ति सजिन्छन् मन्दिर महलहरु
बजाउँछौ हामीले बाजागाजा गुन्जिन्छन् पहाड पर्वतहरु
कुन्नि किन आज हामीलाई दलित भनि हेला गर्ने
कुकुर समेत भित्र पस्दा हामीलाई किन बाहिर राख्ने
पसिना जसले बगाउँदछ उसैलाई दासताको बन्धन छ 
श्रमको खानी दलितहरुलाई सामाजिक भेदभाव छ 
किन बस्ने दमन सही उठौँ अब दलित सारा
समाजको रंग फेर्ने हाम्रो अभिभारा

चलचित्र आवाजमा समेटिएको यो गीतका सर्जकप्रति सम्मान छ। यो गीतका शब्दहरुले शरिरको रक्तप्रवाहलाई तेज बनाइदिन्छ। वास्तवमा छातीमा हात राखेर आँखा बन्द गरेर एकपटक सोच्ने हो भने मानिस भएर मानिसप्रति गरिने व्यवहार कति जायज छ भन्ने कुरा हामी अनुभूत गर्न सक्छौं। पशुलाई त माया गरेर ओछ्यानसम्म लैजान सक्ने हामी किन मानिसलाई ढोका बाहिरै राख्छौँ? 

भनिन्छ, सबै मानिसभित्र ईश्वरको बास हुन्छ। तर जातको आधारमा अर्को मानिसभित्र रहेको ईश्वरको अपहेलना गरिरहन्छौँ भने आखिर मन्दिर गएर पूजा गर्नुको पनि के सार्थकता?

नेपालको संविधानमा मौलिक हकको रुपमा दलितको हक स्थापित गरी छुवाछुत र जातीय विभेदलाई दण्डनीय बनाइएको छ। समानता र स्वतन्त्रताको हकअन्तर्गत जुनकुनै प्रकारको विभेदको विरुद्ध कानूनी उपचारको सुनिश्चितता गरिएको छ। 

जातीय विभेद कसुर सजाय ऐन २०६८ जारी भई कार्यान्वयनमा छ। राज्यले जातीय विभेद अन्त्य गर्न नीतिगत व्यवस्था गरेको भए पनि समाजका प्रत्येक व्यक्तिहरुले कानून कार्यान्वयन गर्न तयार नभएसम्म दलितको नाममा मानवको वलि चढिरहनेछ। 

अब सम्पुर्ण दलितहरु जातीय विभेदविरुद्ध एक भई लाग्नु अत्यन्तै जरुरी छ। साथै सबै सचेत नागरिक अगुवाको सहयोगको पनि उत्तिकै आवश्यक्ता छ।

जातीय भेदभावमुक्त सुन्दर र सभ्य समाज निर्माणको लागि हामी सबै नागरिकको महत्वपूर्ण र सार्थक भूमिका रहन्छ। 



नवराज विक, सम्बन्ध र जातीय मनाेविज्ञान

अन्तरजातीय सम्बन्धकै कारण हत्या गरिएका नवराजहरु…

याेगी नरहरिनाथ जन्मेको ठाउँ जातीय विभेदकाे पराकाष्ठाले गन्हायाे 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?