मालपोत कार्यालय डिल्लीबजारका प्रमुख पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रमुख गोविन्द अधिकारीलाई नियन्त्रणमा लिएको हो।
यसअघि आयोगको टोलीले कार्यालयका ६ जनालाई सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ गरेको थियो।
असार २ गते टोखा नगरपालिकाका ९, सामाखुसी चोक नजिकैको स्टार पार्टी प्यालेस अगाडिबाट मालपोत अधिकृत रघुवंश कँडेलदेखि खरिदारसम्म थिए।
उनीहरुले सेवाग्राहीसँग जग्गाको कित्ताकाट गर्ने आदेश गराइदिए वापत घुसको मोलमोलाई हुँदै गर्दा समातेको हो।
मालपोल अधिकृत सहित खरिदार दीपक खनाल, नायब सुव्बा उद्धव सापकोटा, नवराज घिमिरे, नारायण प्रसाद पोखरेल र गोपाल खड्का रहेका छन्। उनीहरुको साथबाट घुसवापत लिएको ८ लाख ५० हजार रुपैयाँ बरामद गरेको थियो।
उनीहरुको बयानको आधारमा प्रमुखलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको अख्तियारका एक अधिकारीले जानकारी दिए।