नेपालमा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुसार रुपन्देही र गोरखाका एक/एक पुरुषको मृत्यु भएको हाे।
रुपन्देहीको देबदहका ७५ वर्षीय पुरुषको असार १७ गते त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी गराए। उनको स्वाबको रिपोर्ट १८ गते आएकोमा कोरोना संक्रमण पुष्टि भएको थियो।
यसैगरी कोरोना संक्रमणबाटै गोरखाको पालुङटार नगरपालिका ७ निवासी ४४ वर्षिय पुरुषको पनि गएराति मृत्यु भएको छ।
असार १७ गते कतारबाट फर्किएका उनको उपचारको क्रममा शनिबार बिहान गोरखा अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो। उनकाे १८ गते स्वाव संकलन गरी कोरोना परीक्षण गरिएकोमा हिजो पोजेटिभ देखिएको थियो।
उनी निमोनिया र डाइबेटिजका दिर्घरोगी हुन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ।