बैध वा अबैध बाटो हुँदै अमेरिका पुगेका मान्छेहरु हतपत नेपाल फर्किदैनन्। उनीहरुलाई यताको जीवनशैली छोडेर नेपाल फर्किने इच्छा पनि हुँदैन। जो फर्केका छन्, उनीहरु कोही पनि खुशीले फर्केका छैनन्। सबै बाध्यताले नै फर्केका छन्। यद्वपि ती बाध्यताहरु ब्यक्ति पिच्छे फरक फरक छन्।
नेपाल फर्केपछि देशको माया लागेर फर्केको वा त्यस्तो देशमा पनि बस्ने हो र? भनेर झुटो बोल्नु अर्कै कुरा हो। तर, छातीमा हात राखेर सत्य बोल्ने हो भने– उसले कति आत्मद्रोह गरेको छ, त्यो उसलाई मात्र थाहा हुन्छ। अमेरिकाबाट फर्केर तरकारी रोप्नु र अमेरिका नगएको मान्छेले तरकारी रोप्नु कति फरक छ– त्यो पंक्तिकारलाई थाहा हुने कुरा भएन। तर, पत्रपत्रिकामा ‘अमेरिकाबाट फर्केर तरकारी खेती’ भनेर समाचार प्रकाशित हुन्छ– मानौ उसले गरेको काम आजसम्म कसैले गर्नसकेको थिएन। त्यस्तै अमेरिकाको यति र उति लाख तलबको जागिर छोडेर नेपाल फर्केका भनेर समाजमा उसको स्थान उच्च हुन्छ। भलै नेपाल फर्किनुको मुख्य कारण अर्कै किन नहोस? यहाँ यस्तै केही भ्रम निवारण गर्ने कोशिस गरिएको छ।
कारण नम्बर एक:
नेपालको परिवेशमा हुर्केबढेका मान्छेलाई यताको परिबेशसँग सामन्जस्यता कायम गर्न निकै अफ्ठ्यारो पर्छ, किनकी हाम्रो र यताको जीवनशैलीमा आकाश जमिनको फरक छ। धार्मिक स्वभावका एक व्यक्ति डीभी परेर यता आए। हिन्दु धर्ममा जुन कुरा निषेध हुन्छ, त्यो कुरा यहाँ खुल्ला रुपमा भएको देख्दा उनको मानसिक सन्तुलन गुम्न पुग्यो। हरेक धार्मिक आस्थालाई उच्च सम्मान दिनेभए पनि उनको लागि मात्र बिशेष ब्यबस्था हुने कुरा भएन। पसलमा गाईको मासु बेच्न राखेको देख्दा उनी बेहोस हुन्थे। यस्तै–यस्तै कुरालाई पचाउन नसक्दा उनी बाध्य भएर नेपाल फर्के।
कारण नम्बर दुई:
यता आएपछि आफ्नो योग्यता अनुसारको काम नपाएर, पाएको काम गर्न नसकेर वा नगर्दा पनि नेपाल फर्किनुपर्ने बाध्यता पर्छ। दैनिक पत्रिकाको सम्पादक भइसकेका र हाल बेरोजगार भएपछि रातारात सामाजिक अभियन्ता भएका एक मान्यबर पनि नेपाल फर्के। यता उनले कुनै दैनिक पत्रिकाको सम्पादकको जागीर पाउने कुरा भएन र सायद अधिकांश नेपालीले गरेको जस्तो घन्टे जागिर उनले गर्न सकेनन् वा गर्न चाहेनन्। हाल उनलाई नामको पछाडि ‘दाई’ को फुर्को जोडेर फलानो दाई अमेरिकाबाट फर्केको भनेर सम्मानित आँखाले हेर्ने गर्छन। उनले नेपाल फर्केर के कस्तो कार्य गरेर देशको विकाशमा इट्टा थप्ने काम गरे, त्यो पंक्तिकारले बुझेको छैन, सायद त्यस्तो महान कार्य बुझ्ने क्षमता नभएर होला।
कारण नम्बर तीन:
अबैध बाटो होस् वा बैध बाटोबाट आएको किन नहोस्, कानुनी कागजपत्र बनाउन नसकेर पनि धेरै मान्छे नेपाल फर्किन्छन्। लामो समयसम्म ‘आउट अफ स्ट्याटस’ बस्दा बिभिन्न कानुनी झमेला पर्नसक्ने कारण हार खाएर देश फर्केका धेरै छन्। कागज बनाउने प्रक्रियामा असफल भएर देश निकालामा परेर पनि केही ब्यक्ति नेपाल फर्केका छन्। उनीहरु नेपाल फर्केपछि यो यो कारणले म असफल भएर आएको भन्दैनन्। उनीहरुको प्राय: एउटै कुरा हुन्छ– म देश र समाजको माया लागेर आएको। यो सत्य होइन। हजार प्रतिशत झुटो कुरा हो। नेपाली सिने क्षेत्रका दुई कलाकार यस्तै असफल भएर नेपाल फर्केका छन् र उनीहरु नेपाली दर्शकलाई माया मार्न नसकेर आफ्नै देश फर्केको भनेर दैनिक झुट बोलिरहेका छन्।
कारण नम्बर चार:
जानी वा नजानी गम्भीर अपराधमा फसेर पनि केही मान्छे नेपाल फर्किन बाध्य हुन्छन्। नेपाली सिनेमा कि एक नायिका रक्सी पिएर गाडी चलाएको अभियोगमा पक्राउ परेर देश निकाला भइन्। यहाँ रक्सी पिएर गाडी चलाउनु (डियुआई) लाई गम्भीर अपराध मानिन्छ र यसको अधिकतम सजाय देश निकालासम्म पनि हुनसक्छ। हाल उनी आफ्नो देश जस्तो संसारमा कतै हुँदैन र फर्के भनेर झुट बोलिरहेकी छिन्। त्यस्तै क्यालिफोर्नियामा एक युवकले डिस्कोमा एक युवतीलाई दुर्ब्यबहार गरेको आरोपमा देश निकाला भएको छ र पण्डितथरका एक वकिल पनि कानुनी झमेलामा परेर देश निकाला भएका हुन्। हाल उनी अमेरिका भनेको घुम्न जाने ठाउँ हो। संधै बस्ने ठाउँ होइन भनेर झुट बोल्छन्। वास्तविकता के हो भने– यो जुनीमा उनी अमेरिका प्रवेशनै गर्न पाउँदैनन्।
कारण नम्बर पाँच:
पारिवारीक कारणले पनि कोही–कोही मान्छे नेपाल फर्केका छन्। यद्वपि यस्ता मान्छे धेरै कम होलान। पंक्तिकारको एक परिचित यता राम्रो व्यवस्था हुँदाहुँदै पनि सबै छोडेर नेपाल फर्के। यसको कारण थियो–उनको आमालाई ‘अल्जाइमर्स’ नामक रोग लाग्नु। परिवारका अन्य सदस्यको असहमति हुँदाहुँदै पनि उनी नेपाल फर्के तर उनका श्रीमती र बच्चाहरु अमेरिकामै छन्। उनले अमेरिकाको जीवनशैलीभन्दा आमाको स्वास्थ प्रमुख देखे र नेपाल फर्के। तर यस्तै अवस्थामा पनि नेपाल नफर्किने प्रशस्तै छन्।
कारण नम्बर छ:
उमेर बढ्दै गएपछि आठदेखि दश घण्टा काम गर्न नसक्नु, परिवारका सदस्य आ–आफ्नो काममा ब्यस्त भएर एक्लो हुँदा, ब्यापार गर्दा यताभन्दा उता फाइदा हुने देखेर जस्ता बिबिध कारणले नेपाल फर्किने पनि छन्। नेपाल फर्किसकेपछि अधिकांशले देशको माया लागेर वा यस्तै भावुक कुरा गर्ने गर्छन्। सत्य कुरा कसैले गर्दैन।
यी माथि उल्लेखित कारणहरु पंक्तिकारले नजिकबाट अनुभव गरेको हो। यसमा धेरैले असहमति जनाउने कुरामा पंक्तिकार विश्वस्त छ। सत्य कुरा नदेखेको जस्तो गरेर झुटो आशामा दौडिनु नेपालीको विशेषता हो।
100% absolute right dai