गोरखाका कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेका छन्।
कतारबाट फर्किएका पालुङटार नगरपालिका ७ का ४४ वर्षीय पुरुषको उपचारको क्रममा शनिबार बिहान गोरखा अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो।
लगतै बसेकाे जिल्ला सुरक्षा समितिको बैठकले संक्रमितको शव गोरखा नगरपालिका १२ र सहिद लखन गाउँपालिका १ वक्राङको सीमामा पर्ने लुदी र दरौंदीको संगमस्थलमा व्यवस्थापन पर्ने निर्णय गरेको थियो।
तर लुदी दोभानमा शव व्यवस्थापन गर्ने सूचना पाएदेखि नै स्थानीय भेला भएर विरोध गरेका हुन्। पालुङटार घर भएका व्यक्तिको शव लुदी दोभानमा गाड्न उपयुक्त नहुने उनीहरुकाे तर्क छ।
केही बेरमा लुदी दोभानमा शव लगेर व्यवस्थापन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द गुरुङले बताए।
विरोध गरेपछि प्रहरी निरीक्षकको कमाण्डमा जनपथ र सशस्त्र प्रहरी टोली परिचालन गरिएकाे उनले जानकारी दिए।
तर साे स्थानमा बस्ती छैन।