प्रिय पाठक,
अघिल्लो साता मध्यरातमा एउटा सुन्दर युवती-प्रमात्मासँग भेट भएको तपाईंले थाहा पाइसक्नु भएको छ।
थाहा छैन र?
थाहा छैन भने याे लिंक खाेल्नुहाेस्। (आनान्दले पढ्नुहोस्। मज्जाले पढ्नुहोस्।)
मलाई एउटा निमन्त्रणाको कार्ड दिएर गायब बनेकी थिई, उ। मैले उसको नाम सोधेको थिए। उसले भनेकी थिई, 'हाम्रो दोस्रो भेट उल्लेखित समय र ठेगानमा हुनेछ। म त्यहीँ आफ्नो नाम भन्नेछु।'
अब उसकाे ठेगाना कहाँ हाे? ( कुन शहर ? कुन गाँउ? कुन जंगल ? कुन गुफा ? या कुन अड्डा/जक्शन् ?)
उसले दिएको निमन्त्रणा पत्र खामभित्र थियो। खाममा मेराे नाम थिएन। न त उसको नाम नै थियो। यसरी बुझौँ प्रेषक-प्रापक केही थिएन।
उसको बाह्यगमनपछि मेरा औँलाहरु किन यति लालायीत, चिठ्ठी खोल्न ?
खैर, मैले खाम खोले। पत्र खोले। निमन्त्रणा खोले।
पत्र यस्ताे थियाे ः
सम्बोधनः तपाईंलाई नै।
मितीः तपाई जन्मिएको समय।
ठेगानाः तपाईको उभिरहेकै भूगोल।
म हजार वर्षदेखि 'बिलासा बगैँचा'मा भड्किरहेको आत्मा।
'बिलासा बगैँचा' तपाईले जान्नुपर्ने ठेगाना हो। जानी राख्नुहाेस्। जहाँ तपाईं र मेरो आगामी भेट हुँदैछ।
यो बगैँचामा प्रेमिल अभि'लाषा' बोकेर 'बि'रक्तिएका आत्माहरु आउँछन्। त्यसैले हामी यसलाई 'बिलासा बगैँचा' भन्छौ।
म तपाईलाई करिब आठ हजार चार सय दिन अर्थात दुई लाख एक सय मिनेटदेखि पछ्याइरहेकी छु। तपाईंसम्म आइपुग्न मैले मेरो नौ सय उनान्सय वर्ष पुरानो पोशाक परिवर्तन गरेँ। र नयाँ लगाएँ।
मैले तपाईंलाई मन्दिर, गिर्जाघर, मस्जिदका भित्ताहरु पछाडि लुकी-लुकी रोएको देखेको छु। बगरमा तपाईंको हातबाट गुलाब खसेको पनि देखेको हुँ। आफ्नै ओछ्यानमा पल्टिएर भित्ताका तस्वीरसँग एकलापा गरेको पनि सुनेँ।
तपाई कुर्सीमा बसेर केही लेख्न खाेज्दा झ्यालबाट आएका जुनकिरीहरु अर्धलिखित पानामा बसेकाे पनि थाहा छ, मलाई। घरी-घरी डिस्ट्रब गरेकाे देखेँ। जुनकिरीलाई विस्तारै आफ्नाे सासले फुकेकाे पनि मैले कयाैं पटक देखेकाे छु।
केही पुस्तक पढ्दा-पढ्दै अक्षरहरुसँग बोलेको पनि देखेँ, तपाईंलाई। केही पात्रहरुसँग त झन् तपाईंको झगडा नै पर्यो क्या रे !
अँ साच्ची, केही दिनअघि पनि म तपाईंको कोठामा आएको थिए। तपाई मस्त निद्रामा हुनुहुन्थ्याे। निद्रामै तपाई कुनै मरुभूमीमा उँट्काे सवारी गरिरहनु भएको थियो, सायद। मैले ब्युँझाउन चाहिन। बरु तपाईंलाई एकछिन हेरिरहें।
तपाईंको आँखा छलेर तपाईंकै पेन्सिलले आफै-आफ्नो कविता लेखिरहेको थियो, छेवैको टेबलमा। जुन्, नजिकै रहेकाे इरेजरलाई मन परिरहेको थिएन्।
(तपाईका केही साथीहरु इरेजरजस्ता छन्। लेखिएका, पोखिएका र कोरिएका सबै सम्बन्ध मेट्छन्। जसले गर्दा तपाईंमा खत बसिरहन्छन्। र रहिरहन्छन् धुमिल डाम, सदा-सदाको लागि। त्यस्ताको संगतबाट टाढा रहनुस्।)
म भन्दै थिए नी, तपाईंकै आँखा छलेर तपाईंको पेन्सिले आफ्नै कविता लेख्यो। त्यो कविता तपाईंले अर्को बिहान पढ्नु भयो?
पक्कै पढ्नु पाउनु भएन। इरेजर नजिकै जो थियो।
खैर, चिन्ता नगर्नुस्। त्यो कविता म सुनाउँछु, तपाईंलाईः
--------------------------
... तर म
हजुरको पेन्सिल होइन्।
म कुनै बच्चाको झोलाबाट चोरी भएको पेन्सिल पनि होइन्,
भर्खर अक्षर लेख्न सिक्दै गरेको पेन्सील पनि होइन्,म।
कुनै नयाँ घरको ख्रेसा बनाएर
अचानक टेबलबाट हराएको पेन्सिल पनि होइन्,
शेल्टरहरुमा छटपटाईरहेका घाईतेहरुको
चित्र कोर्दा-कोर्दै भाँचिएको पेन्सील पनि होइन,
कथा लेख्दा-लेख्दै समयले लखेटेर
बेपत्ता बनेको पेन्सिल पनि होइन, म।
कुनै माफियासँग सम्झौतापत्रमा हस्ताक्षर गर्ने
शाषकको औँलामा च्यापिएको पेन्सिल पनि होइन्,
र कुनै खतरनाक हत्याराको हातबाट
कोमल आँखाहरुमा गाडिएको पेन्सिल पनि होइन्, म।
म त त्यही पेन्सिल हुँ,
जो कविको हत्केलामा अडिएर
जीवनको कविता लेखेर बस्छु।
---------------------------------------------
यो कविता बिहानै तपाईंद्वारा पढियोस् भन्ने चाहना थियो सायद, पेन्सिलको। तर बिडम्बना नजिकैको इरेजरकाे कारण तपाईको पेन्सिलले आफ्नैलागि लेखेको कविता पढ्न पाउनु भएन। र आज मैले सुनाईरहेको छु।
तपाईंको पेन्सिलाई एकटक्क भएर लुकेर चिहाइरहेको थिए, म। तपाईंले लाखौँ शब्द त्यही पेन्सिले लेख्नु भयो। तर कहिल्यै उसको बारे लेख्नु भएन। सायद यही कारण हुनसक्छ, तपाईंको पेन्सिले आफ्नो लागि आफै कविता लेख्यो।
अब यो पत्रलाई म सकाउन चाहन्छु। पूर्णविराम दिन चाहन्छु। तपाईंलाई थाहै नभएका 'तपाईं'का किस्साहरु थुप्रै छन्, मसँग।
आगामी भेटमा म यसबारे विस्तृत बताउनेछु। यो चिठ्ठी पनि मैले जतनले लेखेकी हुँ। प्रेमले लेखेकी हुँ। हृदयबाट लेखेकी हुँ। तपाई आफ्नो मूडअनुसार पठन गर्नसक्नु हुन्छ।
ठिक यहीँ समय 'बिलासा बगैँचा' आउनुहोला। हामी दोस्रो भेट गर्नेछौ।
यहाँसम्म आइपुग्ने मार्गबारे यो पत्रले आफै निर्देशन गर्नेछ। यो पत्र हावामा उड्दै मेरै बगैँचामा आउँनेछ। तपाई याे पत्रलाई पछ्यार आउनसक्नु हुन्छ। म पर्खिरहनेछु।
उहीँ
अज्ञात आत्मा।
---------------
प्रिय पाठक, यो साता उसलाई भेट्न जान सकिनँ, म। यो साता उसको पत्र पढ्दैमा बित्यो। म सोचिरहेको छु कि, आगामी साता जरुर उसलाई भेट्न जाउँ।
साँच्ची, उसकाे नाम के हाेला ?