कोरोना संक्रमणबाट काठमाडाैंमा ८५ वर्षीय वृद्धकाे मृत्यु

नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं बानेश्वरका एक वृद्धको कोरोना संक्रमणपछि मृत्यु भएको हो।

८५ वर्षीय वृद्ध छात्ति दुख्ने र पिसाव फेर्न कठिन भएको समस्या देखाउँदै काठमाडौंकै एक अस्पतालकाे आइसोलेसमा राखेर उपचार भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाए।

उच्च रक्तचाप र पार्किन्सन बिरामीसमेत रहेका ती वृद्धको असार १७ गते म‌ृत्यु भएको मन्त्रालयले जनाएको छ।

यसअघि काठमाडौंको टिचिङ अस्पतालमा दुई जनाको निधन भए पनि उनीहरु काठमाडौं बाहिरका थिए।

नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ३२ जनाले ज्यान गुमाएका छन्।

नेपालमा पछिल्लो २४ घण्टामा थप ७४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ७४० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। 

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार आज थपिएका ७४० सहित नेपालमा संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ। 

पछिल्लो २४ घण्टामा थप ८२३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ६१४३ पुगेको छ। 

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ।

प्रकाशित मिति: : 2020-07-03 16:40:43

प्रतिकृया दिनुहोस्